हेटौंडा, थाहा नगरपालिकामा यहि १० भाद्रमा परेको कृष्णाष्टमी मेलाको तयारी तिब्र भएको छ । थाहा नगरपालिकासहित आठवटा आयोजक संस्थाहरु मेला व्यवस्थापनका लागि जुटिरहेको आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए ।
मेलाको लागि ८ भाद्रमा बजार क्षेत्रमा तोरण टाँङ्ने, सरसफाई, अस्थायी पसलहरु व्यवस्थापनको काम भैरहेको आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्यालले बताए । मेलामा यसवर्ष पहिलेको तुलनामा थप अकर्षणहरु समेत थपिएको अध्यक्ष अर्यालले जानकारी दिए । अर्यालका अनुसार–‘भाद्र १० गते खाना महोत्सवसहित लाइभ लोक दोहोरी कार्यक्रम आयोजना गरिएको छ ।’ त्यसैगरी लिटिल राधाकृष्ण तथा साँस्कृतिक झाँकी प्रदर्शनी समेत हुने अर्यालले जानकारी दिए । ११ भाद्रमा वृहत साँस्कृतिक कार्यक्रम तथा घैटो फुटाउने प्रतियोगिता आयोजना गरिएको छ ।
मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका छन् । मेलाको मुख्य प्रायोजक यति ब्रुअरी र अर्ना रहेको छ । मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु समेत तोकिएका छन् । पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया र टिम टेलिभिजन मेलाका अफिसियल मिडिया हुन् ।