हेटौंडा/सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले हेटौंडा ५ स्थित जिग्तेन शिवा छेथारलिङ गुम्बा पुगेर सामुहिक दीप प्रज्वलन गरेका छन् । गुम्बाद्वारा आयोजित विश्व शान्ति महायज्ञ पुजा तथा प्रज्ञ पारमिता बुद्ध वचन वाचन कार्यक्रममा पुगेर सामुहिक दीप प्रज्वलन गरेका हुन् ।
मकवानपुरको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, १ को प्रदेशसभा क्षेत्र ‘क’ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता प्रेमबहादुर पुलामी छिन्तु, १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली, क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ का उम्मेदवार कुमारी मोक्तान, नेकपा (एकीकृत समाजवादी) का नेतृ मुनु सिग्देल, महिला संघ मकवानपुर अध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतका नेताहरुले सामुहिक रुपमा दीप प्रज्वलन गरेका हुन् ।
उम्मेदवारहरुलाई धर्म गुरु खेन्पो सर्वजित गोङ्बाले जितको शुभकामना दिएका थिए । विश्व शान्तिको कामना गर्दै लामा सम्बन्धि पिएचडी गरेका बौद्ध गुरुबाट महायज्ञ पुजाको आयोजना गरिएको गुम्बाका अध्यक्ष डोल्मा स्याङ्बोले जानकारी दिइन् । पुजा कात्तिक १ गतेसम्म सञ्चालन हुनेछ ।







