नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेकी छिन् । यस क्षेत्रमा नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका दीपकबहादुर सिंहसंग उनको प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । अहिलेसम्म निर्वाचन जित्न नसकेकी डिनालाई यसपटक गठबन्धनको सहयोग छ । नेपालको संविधान निर्माण र संविधानमा महिलाको समावेशी सहभागिता लगायतका बिषयमा योगदान पु¥याएकी डिनासंग निर्वाचनको सन्दर्भमा गरिएको कुराकानी :
यस पटक पनि उम्मेदवार बन्नुभएको छ । निर्वाचनको तयारी कसरी कस्तो भैरहेको छ ?
यसपटक लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेको छु । निर्वाचनको तयारी सधैँ नै भइरहेको थियो । अहिले आएर मात्रै तयारी गरेको होइन । २०७४ सालमा हारेदेखि नै २०७९ सालको निर्वाचनका लागि म तयारीमा थिएँ । निरन्तर जनताको माझमा छु । जनताको सुखदुःखमा छु । यसपटक जित्ने लक्ष्यका साथ जनताको घरदैलोमा छु । चुनाव लक्षित सभा, घरदैलो लगायतका कार्यक्रम भैरहेको छ । आफ्ना एजेण्डा लिएर म जनताकोमा पुगिरहेको छु । गठबन्धन र कांग्रेसप्रति जनताको आशा भरोसा बढेको पाएको छु, जित सुनिश्चित छ ।
समानुपातिकको पहिलो नम्बरको नाम छोडर प्रत्यक्षतर्फको उम्मेदवार बनेँ भन्ने गर्नुहुन्छ, सहजै सांसद हुने बाटो छाडेर किन चुनावमा आउनुभयो ?
हो, मलाई पार्टी सभापति सहितका पदाधिकारी साथीहरुले पनि समानुपातिकमा बसेर देशभर कांग्रेस र गठबन्धनका उम्मेदवार जिताउने अभियानमा लाग्नुस् भन्नुभएको थियो । म पार्टीको पदाधिकारी भएकाले पनि समानुपातिकतर्फ मेरो नाम पहिलो नम्बरमा नै थियो । चाहेको भए समानुपातिबाट सांसद बन्ने निश्चित नै थियो तर म जनतासंग काम गरेकी मान्छे । जनताकै सुखदुःखमा साथै रहेर जनताको मन जित्दै चुनाव जितेर आउँछु भनेर प्रत्यक्षमा आएको हुँ । जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित भएर आउँछु भनेर उम्मेदवारी दिएको हुँ । म सांसद् हुनका लागि मात्रै यहाँ आएको होइन, जनताबाटै अनुमोदित भएर जनताकै लागि काम गर्न म चुनावी मैदानमा होमिएकी हुँ । सोही अनुसार जनताले माया पनि गरिरहनुभएको छ । वहाँहरुले यो पटक तपाईंलाई जिताउँछौं भन्ने वाचा पनि गर्नुभएको छ । म जित्छु ।
यसअघि तपाईंले जित्न सक्नुभएको छैन । विगतका हारलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
हो म यसअघि पनि पटक पटक निर्वाचनमा उम्मेदवार भएर पनि मैले मतदाताको मन जितेँ तर मत पाउन सकिन । निर्वाचन हारेपनि जनताले माया र हौसला दिइरहनु भएको छ । मैले जनताबाट अत्यन्त सम्मानजनक मत पाएकाले त्यो हौसला अहिलेसम्म पनि रहिरहेको छ । मैले जनताको साथ, सहयोग र सद्भाव सधैँ पाइरहेको छु । त्यसैकारण म निरन्तर जनताको रहेर काम पनि गरिरहेको छु । मतमा पछि परेँ होला तर यहाँका जनताको मप्रतिको सद्भाव र सहयोग ठूलो छ । मेरो निरन्तरको लगाव र सक्रियता देखेर पनि मलाई यो पटक यहाँका जनताले जिताएर मकवानपुर र राष्ट्रको सेवा गर्ने मौका प्रदान गर्नुहुनेछ भन्नेमा विश्वस्त छु । त्यसमाथि मलाई यो पटक गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमोर्चा लगायतको साथ र सहयोग पनि रहेको छ । एमालेकै पनि धेरै नेता कार्यकर्ताहरु मलाई मतदान गर्ने पक्षमा हुनुहुन्छ ।
कांग्रेसले जम्मा ४ जना महिलालाई मात्रै प्रत्यक्षको उम्मेदवार बनायो । तपाईँहरूले उठाउनु भएको आवाज किन सुनुवाई भएन ?
प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउन हामीले प्रयास गरेका हौं । अहिले पनि महिलाले प्रत्यक्षमा चुनाव लड्न गाह्रो हुन्छ । जित्न सकिँदैन भन्ने भ्रम हामीमा रहेको छ । त्यो गलत हो । र अहिले ५ दलको बीचमा गठबन्धन भएकोले पनि धेरै महिला नेतृहरुले टिकट पाउने अवस्था बनेन । जहाँ महिला इच्छुक हुनुहुन्थ्यो, भागबण्डाको कारण त्यहाँ अर्कै पार्टीले टिकट पाउने अवस्था बन्यो । जहाँ हाम्रो भागमा प¥यो त्यहाँ इच्छुक महिला कम नै हुनुभो । तैपनि कांग्रेसले महिलालाई अवसर नदिएको भन्न मिल्दैन । महिलाको संख्या बढाउन र महिलाको आवाज उठाउनका लागि पनि यसपटक हामी महिला उम्मेदवारहरुले जित्नुपर्छ भन्ने मलाई लाग्छ ।
तपाईंको एजेण्डाहरु के कस्ता रहेका छन् ?
हामी पूरा गर्नै नसक्ने एजेण्डा, झुटा आश्वासन र नाराहरु मात्रै दिँदैनौं । म मकवानपुरमै जन्मिएर यहीँ हुर्किदै यही क्षेत्रलाई भूगोल बनाएर राजनीतिमा सक्रिय रहेको छु । मलाई जिल्लाको समस्या, सम्भावना र चुनौती सबै थाहा छ । पुराना एजेण्डा पनि धेरै छन् । मैले धेरै लामो समयदेखि जनसंख्या र विकासको क्षेत्रमा काम गरेँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्सम्म मैले यो क्षेत्रमा काम गरेकी छु । अहिले देशभर नै विकासका नाममा ठूल्ठूला बाटो बनाउने काम मात्रै भएको छ । बाटो विकासको एउटा मेरुदण्ड त हो तर जनताको आवश्यकता अरू के–के हुन् ? स्वास्थ्यको पहुँच कतिको छ ? शिक्षाको पहुँच कस्तो छ ? भन्ने विषयलाई विशेष प्राथमिकतामा राखेको छु । आज पनि मकवानपुर साच्चिँकै बत्तीमुनिको अँध्यारो भनेजस्तै केन्द्रीय राजधानी नजिक र प्रदेशको राजधानी भएर पनि विकासमा निकै पछि छ । प्रदेशको राजधानीको दीर्घकालीन विकास र वास्तविक राजधानी कस्तो हुनुपर्छ भन्ने योजना बनाएको छु । जसरी हामीले सिंहदरबारको अधिकार गाउँघरमा भनिरहेका छौँ, त्यहाँका जनता लाभान्वित भए कि भएनन् भन्ने कुरा सोचेर उनीहरूको जीवनपद्धतिको विकास गर्नेतर्फ लाग्ने योजना बनाएको छु । महिला, आदिवासी जनजातिहरुको समस्या समाधान र पूर्वाधार विकास मेरो मुख्य एजेण्डा हुन् ।
जनताले तपाईँलाई किन मत दिने ?
संविधान निर्माणमा मेरो महत्वपूर्ण भूमिका छ । समावेशी राजनीतिलाई मूल ठाउँमा राखेर मुख्य एजेण्डाको रुपमा हामीले धेरै आवाज उठायौँ। आजको संविधानमा जति पनि अधिकार प्रत्यायोजित भएको छ, त्यो समावेशी राजनीतिलाई हामीले अगाडि बढाएका हौँ । त्यहीअनुसार समाजको विकास र परिवर्तन हुनुपर्छ भन्ने मेरो एजेण्डा हो। सम्पूर्ण जातजातिको अधिकारका लागि पनि म लडेकी छु । विशेषगरी महिलाका लागि आजसम्म महिला हिंसाका कारण, आवश्यक शिक्षाको अभावको कारण, स्वास्थ्यमा पहुँच नभएको लगायत कारण जसरी पीडित भएर बस्नु भएको थियो । यी कुरालाई मधयनजर गरी आवाज उठाउँदै आएको हुनाले म चुनावी मैदानमा उभिएकी छु । मलाई विश्वास छ– मैले उठाएका एजेण्डा कार्यान्वयन गर्ने पक्षमा पनि मैले काम गर्न सक्छु । त्यसैले मलाई मत दिनु भनेको संविधान, नीति र नियमले दिएको विषयलाई कार्यान्वयन गर्नु हो ।
तपाईंले चुनाव जित्ने आधारहरु केके हुन् ?
मैले चुनाव जित्ने आधारहरु धेरै छन् । अहिले म गठबन्धनको उम्मेदवार हु“ । मेरो साथमा कांग्रेस, माओवादी, नेकपा (एस) र अन्य साना दल समेत रहेका छन् । चुनावी अभियानमा होमिएपछि घरदैलोको क्रममा जनताले मलाई निर्वाचित हुनेमा ढुक्क हुन अनुरोध गर्नुभएको छ । अहिले मेरो अभियानमा युवा, महिला, विभिन्न पेशाकर्मी र अभियान्ताहरु जोडिनु भएको छ । वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट पनि गठबन्धन यस क्षेत्रमा बलियो छ भन्ने प्रमाणित भइसकेको छ । मेरो क्षेत्रमा पर्ने ४० वटा वडामध्ये २६ वटामा हामी विजयी भएका छौं । यसक्षेत्रको सवै स्थानीय तहमा गठबन्धन विजयी भएको छ । यो नै प्रमुख आधार हो । अहिले मकवानपुरमा कांग्रेसका पक्षमा जनलहर बढ्दो छ । यसअघि पनि यसक्षेत्रबाट कांग्रेसको उम्मेदवार विजयी भइसकेका छन् । म महिला उम्मेदवार भएका कारण पनि मतदाताबाट थप माया पाउनेमा ढुक्क रहेको छु । मेरो प्रतिस्पर्धीमा रहेको उम्मेदवारहरु संविधान र व्यवस्था विरोधी भएका कारण जनता उनीहरुको पक्षमा छैनन् । कोही उम्मेदवारको पार्टी एउटा चुनाव चिन्ह अर्को रहेको छ । कोही उम्मेदवार संविधान र व्यवस्था विरोधी छन् । जसको कारणले गर्दा पनि मलाई थप सहज हुने देखेको छु ।
एकपटक चुनाव हारेपछि नेपालको राजनीतिबाट महिला टाढिने गरेको छन् । तपाई किन बारम्बार निर्वाचनमा होमिरहनुभएको छ ?
मेरो कर्म क्षेत्र नै यही भएको हुनाले मैले निरन्तरता दिइरहेँ। हिजो संविधानसभामा हुँदा त्यता काम हुन्थ्यो र म त्यता जान्थेँ । विगत पाँच वर्षदेखि मेरो काम पनि भएन । म विभिन्न सामाजिक संघसंस्था र सहकारीमार्फत जनतासँग प्रत्यक्ष रूपमा जोडिएकी छु। चुनाव हारेपछि पनि निरन्तर पाँच वर्ष मैले आफ्नै जिल्लामा रहेर जनतासँगै बसेर काम गरिरहेकी छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मेरो प्रतिस्पर्धीहरु जस्तो एकपटक निर्वाचित गर्दिनुस् वा अन्तिम पटक हो भनेर म जनताको सुखदुःखको साथ छाडेर भाग्नेवाला छैन । म विजयी हुनेमा ढुक्क छु । यदी प्रतिकुल नतीजा आएको खण्डमा पनि म यस क्षेत्रको मात्र नभएर जिल्लाबासीको हरेक सुख र दुःखमा साथमै हुने प्रतिद्धता जनाउनेछु । पटक/पटक प्रतिकुल नतीजा आउ“दा पनि जनताबाट टाढा नभएको तपाईहरुलाई थाहा नै छ । तर यो पटक म सहजै पाएको सांसद् पद छोडेर प्रत्यक्ष निर्वाचन जित्दै जिल्लाबासीको हकहितमा केही गर्ने योजनासहित चुनावी मैदानमा आएको छु । म मकवानपुरकै चेली हुँ, यहाँकै बुहारी हुँ । ययपटक निर्वाचित गरेर जनताको सेवा गर्ने मौका प्रदान गरिदिनुहुन अनुरोध गर्दछु । तपाईंका सामु गरेका प्रतिबद्धतालाई पूरा गर्नेछु । तपाईंहरुकै साथमा रहनेछु । धन्यवाद ।