जब कुनै वस्तुको माग बढीरहेको हुन्छ तर आपूर्ति बढ्न सक्तैन तब उक्त वस्तुको मुल्य बढ्छ बढ्छ । तत्कालीन अवस्थामा रसिया- युक्रेन युद्धको कारण पेट्रोलियम पदार्थको मुल्य बढ्नुको मुल कारण बताइएता पनी खासमा पेट्रोलियम पदार्थको स्रोत नै घट्दै गएको कारणलाई बिर्सनु हुँदैन । तेल उत्पादक देशहरूले आफुसङ्ग भएको सिमित तेल स्रोतको उत्पादन घटाएर अन्य देशहरूबाट आयात गर्ने प्रवृत्तिले पनि तेलको मुल्य लगातार बढ्न थालेको देखिन्छ ।
एक थोपा पेट्रोलियम पदार्थ उत्पादन नहुने हाम्रो देशमा एकातिर उपभोग बढ्दै जाने र अर्को तर्फ तेल निर्यातक देशहरूले मूल्य वृद्धि गर्दै लगेको आजको अवस्थामा पेट्रोलियम पदार्थको एक मात्र विकल्प विजुली उर्जाको उत्पादन बढाउनु नै हुनेछ । तर आजको आजै विजुलीको उत्पादन बढाउन सकिदैन । ठूलो लगानी , पुर्वाधार विकास र उत्पादन सम्म ४-५ वर्ष कम्तीमा समय लागि हाल्छ । लामो समय पछि एउटा विधुत आयोजनाले उत्पादन शुरु गर्छ त्यति बेला सम्म उर्जाको माग थप बढी सकेको हुन्छ । हाइड्रोपावर निर्माणमा सरकारको दरिलो प्राथमिकता नहुँदा आयातित पेट्रोलियम पदार्थको विकल्प नेपाली विजुली हुनसकिरहेको छैन ।
देशले अहिले प्रतिदिन एक अर्ब बढीको पेट्रोलियम पदार्थको आयात गरिरहेको देखिएको छ ।यो मात्रामा पेट्रोलियम पदार्थको आयात गरिरहने हो भने अन्य विकासको काम गर्न हामीसङ्ग लगानी गर्ने पैसाको र वैदेशिक व्यापारको लागि विदेशी मुद्राको सधैं अभाव रहिरहन सक्तछ । अत: पेट्रोलियम पदार्थको खपत कम गर्नु अपरिहार्य छ ।
हाम्रो यातायात प्रणाली बिजुली उर्जामा रुपान्तरण नहुन्जेल सप्ताहको दुई दिन बिदा गरि ६ दिनमा गर्ने काम ५ दिनमा गर्ने राम्रो विकल्प हुन सक्थ्यो । २०७९ जेष्ठ देखि यो ब्यवस्था लागू गरियो तर एक महिना मै यो व्यवस्था सरकारले फिर्ता लियो । सप्ताहको ५ कार्यदिनको निर्णय सङ्गै सरकार र सरकारी संस्थानहरुको गाडी बिदाको दिन गुड्न नपाउने कडा व्यवस्था लागू गर्न सकेको भए कम्तीमा २० प्रतिशत पेट्रोलियमको मागमा कमि आउने नै थियो । सरकारी गाडीको दुरुपयोग रोक्नु पर्ने त छदैछ निजी गाडी पनि जोड बिजोड प्रणालीमा चलाउनु पर्ने अवस्था छ । हामी आम नेपालीले पनि हिडेर जान संभव भएको ठाउँमा हिडेर जानू पर्ने परिस्थिति आइसकेको छ । पेट्रोलियमको मुल्यवृद्धि फिर्ता लेउ भनेर सडक तताएर मुल्य घट्ने अवस्था देखिदैन।अहिले त मुल्य मात्र बढदै गएको हो भोलि आपूर्ति नै न्यून भयो भने खल्तीमा पैसा हुनेले पनि किन्न नपाउने डर लाग्दो अवस्था आउन सक्तछ ।
भारत,चीन, अमेरिका,युरोपेली तथा अन्य निकै देशहरूले पेट्रोलियमको निर्भरता घटाइ ग्रीन उर्जा उत्पादनमा प्रशस्त लगानी र अनुसन्धानमा रातदिन गरिरहेका छन । तर हामी ट्रली बस र सफा टेम्पोलाई प्रवर्द्धन गर्न वेवास्ता गर्छौ । बिजुलीबाट चल्ने कारको प्रयोगलाई सरकारले प्रोत्साहन गरिरहेको देखिदैन । सारा विश्व हाइड्रोजन उर्जा उत्पादनमा रातदिन गरिरहेको युगमा हामी बिजुली गाडीको प्रयोगमा पनि लाभहानि र राजनीति गर्दैछौ। अधिकाँस मुलुकहरु ४-५ वर्ष भित्र हाइड्रोजन उर्जा युगमा प्रवेश गरिसक्ने छन । जलस्रोतको धनी हामी जलविद्युतमा आत्मनिर्भर हुन छाडेर पेट्रोलियम माथीको निर्भरता झन पो बढाउदै छौँ ।