प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

हेटौंडा, बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार अपराह्न बसेको प्रदेश सभाको बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा डिजिटल प्रदेश निर्माण, सुरुङ मार्ग निर्माण, बन्द रोप–वे सञ्चालन, निःशुल्क आधारभूत स्वास्थ्य सेवा लगायतका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको छ । प्रदेश प्रमुख शर्माले गत मंसिरमा भएको आम निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई थप संस्थागत गर्ने विश्वास व्यक्त गरे । सरकारले प्रदेशको समग्र विकास तथा सेवा प्रवाहको रुपान्तरणकारी योजना तथा कार्यक्रम सञ्चानलन गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ । सबल, सुशासनयुक्त, आत्मनिर्भर र प्रविधिमैत्री प्रदेश बनाउने संकल्पका साथ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरेको उनले बताए ।

प्रदेश प्रमुख शर्माका अनुसार प्रदेशको भूमिकालाई थप प्रभावकारी बनाउन संघीय सरकार तथा स्थानीय सरकारसँगको सहकार्य र समन्वयलाई मजबुत बनाइने छ । यस्तै, उच्च आर्थिक वृद्धि, सामाजिक न्याय तथा वातावरण संरक्षणको माध्यमबाट प्रदेशको समृद्धि र दिगो विकासमा जोड दिने सरकारको नीति छ ।

प्रदेशको सन्तुलित विकास र समृद्धिमा ठूला आयोजना पहिचान गरी कार्यान्वयनमा लैजाने, पुँजी निर्माण, उत्पादकत्व र उत्पादन अभिवृद्धि तथा रोजगारीको अवसर सिर्जनाका लागि लगानी केन्द्रित गर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्ने, सरकारले वित्तीय संघीयतालाई थप सबल बनाउन आवश्यक नीतिगत व्यवस्था गर्ने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै प्रदेश सरकारले कार्यान्वयन गर्ने आयोजना तथा कार्यक्रमहरूको न्यूनतम रकम सीमा निर्धारण गर्ने र सो सीमाभन्दा न्यून रकमका आयोजना तथा कार्यक्रमहरू स्थानीय तहमा हस्तान्तरण गर्ने, प्रदेश गौरवका आयोजना छनौट गर्ने मापदण्ड तर्जुमा गर्ने भएको छ । प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत आयोजना तोकिएको समयभित्रै सम्पन्न गर्ने, आयोजनाको अनुगमन तथा मूल्याङ्कनलाई थप प्रभावकारी बनाउने, नागरिकहरूको वित्तीय सेवामा पहुँच अभिवृद्धि गर्ने, करको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रणमा सरकारले जोड दिने भएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाका लागि स्थानीय तहलाई प्रोत्साहन गर्ने, प्रदेशका विषयगत नीतिहरूलाई स्वास्थ्यमैत्री बनाउन सबै नीतिमा स्वास्थ्य भन्ने अवधारणा लागु गर्ने उल्लेख छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई थप विस्तार गर्ने, प्रादेशिक अस्पतालहरूमा विपद्, जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुको निःशुल्क उपचार गर्ने, ‘एक माध्यमिक विद्यालय, एक नर्स कार्यक्रम’ लाई विस्तार गर्ने, विद्यालय नर्सको छनौट सम्बन्धित स्थानीय तहबाट गर्ने व्यवस्था मिलाउने जस्ता लक्ष्य पनि बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button