हेटौंडा, चितवनका पत्रकार तथा कथाकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रहमाथि शनिबार हेटौंडामा अन्तर्क्रिया गरिएको छ । किताबघरको आयोजनामा शनिबार गरिएको कार्यक्रममा टिप्पणीकार हरि पौडेल र नीरा शर्माले टिप्पणी राखेका थिए । पुस्तकका सन्दर्भमा बोल्दै टिप्पणीकार हरि पौडेलले सङ्ग्रहका अधिकांश कथामा महिला केन्द्रित समस्यालाई उठान गरिएको बताए ।
‘समाजका हरेक क्षेत्रमा महिला विभिन्न कारणले उत्पीडित छन् । त्यही क्षेत्रमा रहेका पुरुषको पीडा पनि कम छैन, तर कथाकारले महिलाकामात्रै समस्यालाई कथामा उतार्नु भएको छ’, पौडेलले भने । अर्का टिप्पणीकार नीरा पौडेलले सङ्ग्रहका अधिकांश कथा नारीवादी भएको बताइन् । कथाका अधिकांश मुख्य पात्र नारी भएको र कथामा नारीले विद्रोह गरेको कुरालाई मार्मिक ढंगले उतारिएको शर्माले बताइन् । कार्यक्रममा मन्तव्य राख्दै कवि सामना पहाडले एकजना पुरुष लेखकले महिलाको संवेदनालाई मिहिनेत गरेर कथामा उतारेको बताइन् ।
कथाकार पराजुलीले सङ्ग्रहमा भुइँमान्छेका कथालाई समावेश गरेको बताए । ‘मकवानपुर, चितवन र धादिङ जिल्लामा बसोबास गर्ने सीमान्तीकृत चेपाङ समुदायको जनजीवनलाई कथामा उतारेको छु’, पराजुलीले भने । आफू पत्रकारिताको विद्यार्थी भएको र खोजमुलक सामग्री संकलन गर्ने क्रममा देखेका भोगेका कुरालाई कथामा उतारेको हूँ’, उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्यले मोम्चो शब्दले चेपाङ समुदायका महिलालाई सम्बोधन गर्ने भएकोले यो पुस्तकले चेपाङ समुदायलाई सम्मान गरेको बताए ।
गाउँमा कथालाई किताबमा उतार्नु सानो काम नभएको भन्दै आचार्यले लेखक पराजुलीको साहसलाई धन्यवाद दिए । कार्यक्रमका सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले कथामा आधुनिक आमाहरूका चरित्रलाई उजागर गरिएको बताए । सामान्य भाषागत त्रुटि र वर्णविन्यासले पाठकलाई कहिँकतै बिझाउने निखिलले बताए । कार्यक्रमलाई किताबघरका सञ्चालक छवि अनित्यले सहजीकरण गरेका थिए ।