विकासको साधारण फर्मुला : “सडक साङ्गुरो भए, नयाँ अर्को सडक बनाउ’’

जनताले सार्वजनिक जग्गा वा सडक अतिक्रमण गरेको खबर समय समयमा सुन्न पाइन्छ तर जनताको स्वामित्वमा रहेको जग्गालाई विना क्षतिपूर्ति सडकले अतिक्रमण गरि शहरी सडकलाई हाइवेको रुपमा विस्तार भएको खबर आज सम्म नेपाल त के विश्व मै सुन्न पाइएको छैन । काठमाडौमा सवारी चाप बढदा रिङ्ग रोड बन्यो ,बागमती ,बिष्णुमति ,धोबिखोला आदि नदिहरुको करिडोरमा दुबै तर्फ नयाँ बाटोहरु बनाइयो तर जनताको घर भत्काएर सडक विस्तार भएको देखिदैन ।

हो ! कुनै जनताले सडक अतिक्रमण गरि कुनै संरचना बनाएको रहेछ भने त्यो हटाइएको छ र हटाउनु पर्दछ । छिमेकी मुलुकको पटना र दिल्ली शहरका सडकहरुमा सवारी चाप थेग्न नसकेरै नयाँ पटना र नयाँ दिल्लीको निर्माण भएको हो । जनताको घर भत्काएर सडक वा हाइवे बनाउने काम कुनै सरकारले सोच्नै नसक्ने कुरा हो । विकासको साधारण फर्मुला हो कि “सडक साङ्गुरो भए , नयाँ अर्को सडक बनाउ’’ । विकासमा राजनीति भएमा त्यो विकासमा ढिलाइ हुन्छ, खर्चिलो हुन्छ र विकास उत्पादनशिल पनि हुन सक्तैन । हेटौंडा शहर बचाउने विकल्पको रुपमा चौकी टोल- राप्तीपुल – रातोमाटे बैकल्पिक हाइवेको रुपमा मानवसेवा आश्रम सम्म ट्र्याक खोली सकिएको अवस्थामा त्यसलाई किन हो कुन्नि वेवास्ता गरिएको छ । हरेक वर्षको असार महिनामा सडक कार्यालयले एउटा सूचना निकाल्छ ।

त्यो सूचना पढेर लालपुर्जा र सोको कर तिरेको रसिद सिरानीमुनि राखेर सुतेका पीडित पक्ष आन्दोलित हुन्छन् । रमितेहरु सिट्टी बजाउँछन । राजनितीकर्मिहरुको चहलपहल बढ्छ । मिडियाले खबर पाउँछ । यी दृश्य हरेक वर्ष हेर्नू परेको छ । शहरको अग्लो स्थानमा रहेको बुद्धचोक र वरिपरि हरिया हुर्केका अशोक रुखहरुले जो कोहिलाइ पनि हेटौंडाले मोहित गर्ने गरेको छ। यहि बुद्धचोक वरिपरि झुम्मिएका बैकहरु एवं नुन देखि सुन पाइने सरल सहज बजार छ । आन्दोलन, बिरोध र्‍याली, कोण सभा , शान्ति दिप बाल्ने आदि थलोकोरुपमा मुख्य हेटौंडा शहर परिचित पनि छ । पन्चायती व्यवस्था फाल्न , पन्चायती संविधान च्यात्न , पन्चायती काला कानुनहरु बदल्न बुद्धचोकको सयौपल्ट उपयोग भयो । तर आज त्यही बुद्धचोक भत्काउन ५० वर्ष अघिको पन्चायती कालो कानुनलाई मुख्य हतियार बनाउन खोजिएको छ । राज्य वा सरकारले कुनै पनि कानुन वा नियम जनताको हितमा बनाउनु पर्दछ । यदि कुनै कानुन वा नियमले जनताको हक संरक्षण गर्दैन , जनतालाई पिडा दिन्छ , जनतालाई न्याय गर्दैन तब त्यो कानुन वा नियम राज्य वा सरकारले बदल्नु पर्दछ ।

“कानुन वा नियम मै यस्तै छ भनेर जनतालाई पेल्नु हुँदैन ।” कुनै पनि हाइवे शहर भित्र पस्नु हुदैन भन्ने विश्वव्यापी मान्यतालाई लत्याउदै केहि व्यक्तिहरु एतिहासिक शहर भत्काउन तम्सिएका देखिन्छन् । आफ्नो सम्पत्ति जोगाउन हारगुहार गरिरहेका रैथाने जनता र वर्षौं देखि त्यस क्षेत्रमा रोजगारी गरि बसेका व्यवसायी /व्यापारीको पिडा र चिन्ता स्पष्ट देख्न सकिन्छ । जनताको घर भत्काउन र व्यापार व्यवसायको उठिवास गराउन कथित “राजनीतिक सहमति” गर्ने कार्यलाई प्रजातान्त्रिक भन्न मिल्ला र ? प्रस्तावित हाइवेको ऋणदाता र यो कथित हाइवे निर्माण गर्ने ठेकदारलाई शहर भत्काएर हाइवे निर्माण गरेको अनुभव नभएकोले उनिहरुले धेरै खाले नसोचेका समस्याहरुको सामना गर्नु पर्ने पनि देखिन्छ ।

करिब डेढ दर्जन व्यक्तिहरुको जुङ्गा लडाइँको कारण दुर्भाग्यवश कथमकदाचित शहर हेटौंडा भत्किएमा वर्षौंसम्म हेटौंडामा एउटा साइकल चलाएर हिँड्न नसकिने अवस्था सिर्जना नहोला भन्न सकिन्न । भद्रगोल शहरबाट वाक्क दिक्क भइ कतै प्रदेश राजधानी यहाँबाट नसरोस माता भुटनदेविसङ्ग प्रार्थना छ । विनाश शुरु गर्नु अगावै जनताको प्रतिनिधिहरुको चेत खुलोस । भगवान पशुपति नाथले हेटौंडा शहरको रक्षा गरून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button