हेटौंडा, मुक्तक मञ्च मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा संयुक्त मुक्तक वाचन कार्यक्रम भएको छ । शनिवार आयोजित मुक्तक मञ्चको ११औँ विशेष शृङ्खलामा मुक्तककार द्वय सानु खनाल र मिथिला अधिकारीले आफ्ना दस /दस वटा गहकिला मुक्तकहरू वाचन गरेका थिए ।
स्थानीय मुक्तककारहरू हेमन्त ढुङ्गेल,ओमभक्त भण्डारी, समीर पाख्रिन, देवराज तिवारी, सुवास सजल, केशव समर्पण, चिरञ्जीवी लामिछाने, रजनी पौडेल, वैकुण्ठ लामिछाने ,सुवास सजल ,सागर तिमल्सिनाले आफ्ना दुई/दुई मुक्तक वाचन गरेर मुक्तक वाचनको रौनकलाई थप आकर्षक बनाएका थिए । मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डी.बि. बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । सम्पूर्ण साहित्यिक संस्थाको तर्फबाट सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मुक्तक गहकिलो विद्या भएको र बिन्दुमा सिन्धु अटाउने अनुभूति ल्याउनुपर्ने विचार व्यक्त गरेका थिए ।
मुक्तक मञ्च मकवानपुरका सल्लाहकार विश्व नाथ सन्जेलले शुभकामना मन्तव्य राख्नु भएको थियो र सम्पूर्ण साहित्यकारहरूको तर्फबाट कवि मुना अर्यालले सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय साहित्य सङ्घ संस्थाहरूका पदाधिकारीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो । यो विशेष कार्यक्रमलाई संस्थाकी सहसचिव अमृता लामिछानेले सहजीकरण गरेकी थिइन् ।







