सिकाई र भोगाई नै ‘दिवास्वप्न’ (पुस्तक समिक्षा)


चर्चित भारतीय लेखक तथा बालसाहित्यकार गिजुभाइद्वारा सन् १९३० मा पहिलोपटक गुजराती भाषामा प्रकाशित भएको दिवास्वप्न कृति सन् १९३२ मा हिन्दी भाषामा प्रकाशित भएको थियो । नेपाली दिवास्वप्नलाई केही नेपालीकरण गरि शरच्चन्द्र वस्तीले अनुवाद गरेका हुन् भने शिक्षक मासिकले प्रकाशन गरेको थियो । वि.सं. सन् १८८५ सालमा गुजरातमा जन्म लिएर सन् १९३९ मा स्वर्गावास भएका गिजु भाईको वास्तविक नाम गिरिजाशंकर भगवानजी हो । लेखककारले बालबालिकालाई कसरी पढाउनुपर्छ भन्ने कुरा प्रवचन र आदर्श छाडेर नभई आफैँले पढाएको देखाएर आफ्ना शैक्षिक मान्यताहरु प्रस्तुत गरेका छन् । जीवनमा आधारित लेखकको कृति हो । उनले यसै कृतिमार्फत विश्वविद्यालयमा सिकाइका नवीनतम प्रयोग नगर्ने र अरुले गर्दा पनि खिस्सी गर्ने पुरानै शैलीका शिक्षकलाई गतिलो झापड हान्नु भएका छन् ।

आदर्श शिक्षाका प्रवचनहरु दिएर नथाक्ने शिक्षाविद्वहरुलाई आफ्नो काम कसरी गर्नुपर्छ भनेर सिकाएका छन् । दिवास्वप्न कितावमा प्रयोगको आरम्भ, प्रयोगको प्रगति, ६ महिनापछि र अन्तिम सम्मेलन गरी ४ वटा अध्यायहरु रहेका छन् ।प्रस्तुत दिवास्वप्नका पुस्तकमा लेखक गिरिजाशंकरले विचारहरु पर्याप्त छन् तर ती विचारहरु कृतिको व्यवहारीक छन् त रु भन्ने विषयमा शिक्षा अधिकारीकहाँ जान्छन् र आफ्नो शैक्षिक मान्यताहरु प्रयोग गरी जाँच्नको लागि कुनै प्राथमिक विद्यालयमा प्रयोगको लागि जिल्ला शिक्षा अधिकारीसँग अनुमतिको लागि आग्रह गर्छन् । शिक्षा अधिकारीले प्रयोग र अनुभव गर्न पाउने तर अन्तिम परिक्षामा विद्यार्थीले राम्रो उपलब्धी हासिल गरेको हुनुपर्ने सर्तसहित गाउँको प्राथमिक विद्यालयको चौथो कक्षामा अध्यापन गराउनको लागि पठाउँछन् । विद्यालयमा लेखकको पहिलो दिनको अनुभव राम्रो हुँदैन । पहिलो दिन विद्यार्थीहरुले हल्ला गरेपछि कक्षाकोठालाई शान्ति बनाउनको निम्ति खेल खेलाउँने भन्दै विद्यार्थीलाई चुप लाग्न आग्रह गर्छन् ।

‘कागको ठाउँमा बकुल्लो’ भनेझँै लेखकको कुरा विद्यार्थी कसैले सुन्दैनन । केही सिप नलागेपछि लेखकले विद्यार्थीहरुलाई छुट्टी दिन्छन् । विद्यालयको समय अगावै विद्यार्थीहरुलाई छुट्टी दिएको भन्दै लेखकसँग प्रधानाध्यापक ठेट्ना मकै पड्के जसरी पड्किन्छन ।दोस्रो दिन लेखकले कक्षाकोठामा कथा सुनाउँछन् । कथा सुन्दा विद्यार्थीहरु शान्त र जिज्ञासु भएको देखेपछि विद्यार्थीलाई तह लगाउने हतियार नै कथालाई बनाउँछन् । भोलिपल्ट देखि विद्यार्थीलाई लेखकले कथा सुनाउँछन् र कथाको किताब पढ्न हौसाउँछन् । कक्षाकोठामा पुस्तकालय स्थापना गर्नुपर्ने जरुरत देखेपछि लेखकले प्रधानाध्यापक र शिक्षा अधिकारीसँग आर्थिक सहयोगको लागि साहारा माग्छन् । तर सहयोग नपाएपछि विद्यार्थीबाट केही मात्रामा आर्थिक जोहो गरी कथाको किताबहरु जुटाउँछन् र विद्यार्थीको पढाइप्रति ध्यान आकर्षित गर्छन् ।

लेखकले विद्यार्थीलाई प्रयोगको नाममा पाठ्यपुस्तक नपढाएको र अन्य नचाहिँदो क्रियाकलाप गराएको भन्दै प्रधानाध्यापक रुष्ट हुन्छन् । लेखकले भने यी बकुम्फुसे कुराहरुको वास्था नगरी आफ्नै प्रयोगमा मन्त्रमुग्ध हुन्छन् । विद्यार्थीहरुसँग घुलमिल भएपछि लेखकले उनीहरुलाई सरसफाईप्रति सचेत बनाउन चाहन्छन् । यसका लागि उनले आफ्नै खर्चमा एैना, काइयो र टावेल ल्याउँछन् र विद्यार्थीहरुलाई एैना, काइयो र टावेल देखाउँछन् । आफू फोहोरी रहेछु भन्ने महसुस गराउँछन् । सधैँ धारामा हातमुख धुने र तौलियो पुछेपछि मात्र कक्षामा बस्नुपर्ने नियम पनि लगाउँछन् । तर विद्यार्थीको टाइ र लुगा भने निकै फोहोर र जिर्णो हुन्छन् । यसको लागि लेखकले विद्यार्थीलाई आफ्ना आमा बुबासँग भन्न लगाउँछन् । तर अभिभावकहरुले भने शिक्षकको काम विद्यार्थी पढाउने हो, अन्य काम गराउने होइन भन्दै उल्टो गाली गर्छन् । एकदिन खेल खेलाउन चौरमा लैजादा एक विद्यार्थीले अर्को विद्यार्थीको टाउकोमा ढुङ्गाले हान्छ । यो खवरले सबै शिक्षक र अभिभावकहरुले पढाउने बेलामा खेलाउन लैजाने कस्तो शिक्षक हो भन्दै लेखकसँग खनिन्छन् । त्यसपछि लेखकले विद्यार्थीको परिस्थिति सुधार्न र अभिभावकको पढाइप्रतिको धारणामा परिवर्तन गराउनको लागि अभिभावक भेला बोलाउँछन् । बल्ल बल्ल जम्मा भएका १२– १५जना अभिभावकले पनि लेखकको कुरामा कुनै चासो दिँदैनन र आफ्नो बाटो लाग्छन् ।

कथा र खेल, पुस्तकालय र पुस्तकवाचन, सरसफाई र अनुशासनको गृहकार्य गर्दा गर्दै लेखकको दुई महिना पत्तै नपाई बित्छन् । लेखकले आफ्नो प्रयोगको मूल्याङ्कन गर्न थाल्छन् । कथाको माध्यमबाट गरेको विविध क्रियाकलापहरुले शिक्षक र विद्यार्थीहरुको सामिप्यता बढेको हुन्छ । विद्यार्थीमा कथा पठन र कथा कथन शैली गज्जवले राम्रो भएको पाउँछन् । अन्य कक्षाको विद्यार्थीहरु कक्षामा शान्त बसेपनि कक्षाबाट छुटेपछि उत्पात मच्चाउने गरेको तर आफ्नो विद्यार्थीहरुको कक्षा भित्र र बाहिर पनि एकनाशको व्यवहार भएकोमा लेखक दंग हुन्छन् । यति हुँदा पनि लेखकले सरसफाईको सुधार गर्न सकेको हुन्न । सहकर्मी शिक्षकले उनी माथि कति पनि विश्वास गर्दैनन् । लेखक र अन्य शिक्षकहरुमा प्रतिद्वन्द्वीको भावनाको विकास हुन्छ । लेखक सम्झिन्छन् मेरा विद्यार्थीहरुलाई पिट्दिन र मप्रति सन्तुष्ट छन् । तर अन्य शिक्षकहरुले विद्यार्थीलाई पिटेर शान्त बनाउँछन् । त्यसैले उनीहरुका विद्यार्थी डराएर भाग्ने मात्रै होइन पिठ्यू पछाडिको नक्कल गरेर खिस्सी पनि उडाउँछन् ।अरु शिक्षकले भन्दा मैले राम्रो गरिरहेको छु भन्ने लागेपछि लेखक सन्तुष्ट हुन्छन् । त्यसपछि लेखकको प्रयोगको प्रगति शुरु हुन्छ। लेखकले श्रुतिलेखन गराउँछन् अनि सफलता पाउँछन् । अन्य कक्षाको विद्यार्थीलाई शिक्षकले पिटेको आफ्नो कक्षाको विद्यार्थीलाई मन पर्दैन । यस विषयमा लेखकले धेरै पटक शिक्षा अधिकारीकहाँ पुगेर आफ्नो समस्या र सफलताहरु बताइरहेका हुन्छन् । इतिहास पढाउनको लागि पनि उनले कथालाई हतियार बनाउँछन् । विद्यार्थीलाई गीत पनि मनपर्ने थाहा पाएपछि लेखक आफैँ गाउँछन् र उनीहरुलाई पनि गाउँन लगाउँछन् ।

अन्य शिक्षकले हल्ला गराएको र पढाउन नदिएको भन्दै गीतको विरोध गर्छन्। लेखकले गीत र कविता अभ्यासको लागि विद्यार्थीलाई नदी किनारामा लान थाल्छन् । पत्तै नदिइकन विद्यार्थीलाई नक्सा, कथा, विविध क्रियाकलापद्धारा भूगोल पनि सिकाउँछन् । विद्यालयमा एक समारोह हुन्छ जसमा शिक्षक निर्देशकलाई खुसी पार्न विद्यार्थीहरुलाई कृतिम रुपमा विभिन्न प्रस्तुती माथि अभ्यास गराइन्छ । यो कुरा लेखकलाई चित्त बुझ्दैन । लेखकले शिक्षा अधिकारीसँग आफ्नो विद्यार्थीले मञ्चमा नभई कक्षामै प्रस्तुती देखाउने कुरा बताउँछन् । सोहीअनुसार शिक्षा निर्देशकलाई चौथो कक्षामा लगिन्छ । त्यहाँ विद्यार्थी र लेखक मिलि स्वभाविक नाटक सहित विविध क्रियाकलापहरु प्रस्तुत गर्ने गर्दछन् । शिक्षा निर्देशकले लेखक र शिक्षा अधिकारीको कुरा प्रशंसा गर्दै सबै कक्षामा यस्तै क्रियाकलापले सिकाइ गराउन सुझाव दिन्छन् । अर्धवार्षिक परिक्षामा परिक्षा लिनका लागि शिक्षा अधिकारी आउँछन् । लेखकले परम्परागत भन्दा केही भिन्न तरिकाले विद्यार्थीको मूल्याङ्कन गराउँछन् । तर प्रधानाध्यापक र अन्य सहकर्मी भने लेखकमाथि व्यङ्ग्य गर्छन् । तर शिक्षा अधिकारी भने लेखकप्रति प्रभावित हुन्छन् र लेखकको शैद्धान्तिक मान्यताहरुलाई गहिरोसँग बुझ्दछन् । अनि तपाईको सबै विद्यार्थी पास भन्दै जान्छन् । यसपछि लेखकले व्याकरण, नैतिक, भूगोल, इतिहास, भाषालगायतका सबै विषयका शिक्षणहरु खेलमार्फत निकै रोचकतरिकाबाट गराउने गर्दछन् । जसबाट उनको खिस्सी गर्ने शिक्षकहरुपनि प्रभावित रहन सक्दैनन् ।

प्रत्येक विषयको प्रत्येक पाठलाई उनले छुट्टा छुट्टै खेल निर्माण गरेका हुन्छन् । जसको सविस्तार वर्णन किताबमा गरेका छन् । तर चौथो कक्षामा आएका विद्यार्थीलाई गणित शिक्षणको लागि आफ्नो खेल विधी उपयुक्त नभएको भन्दै गणितको लागि सुरुदेखि नै मन्टेश्वरी विधी अपनाउन सुझाव दिएका छन् । अन्तिम सम्मेलनमा लेखकले सहकर्मी शिक्षकसँग अन्तरक्रिया गर्छन् । जसमा शिक्षकहरुले तपाईको एक वर्षको प्रयोगको लागि जे भनेर आउनु भएको थियो र पो सम्भव भयो, हामीलाई सम्भव हुँदैन भन्दै आफ्नो कमी कमजोरीहरु छोप्न खोज्छन् तर लेखकले भने सबैको प्रश्नको उत्तर दिन्छन् । प्राय सबै शिक्षकको मनमा हुने अनेकौ प्रश्नहरु लेखकमाथि तेर्सिन्छन् । तर लेखकका अगाडि सबै प्रश्नहरु कमजोर हुन्छन् । अन्तिम परिक्षामा लेखकले आफ्नो कक्षामा फरक क्षेमता भएका तर कक्षा चढाउन नसकिने विद्यार्थीलाई उनीहरुको क्षेमता अनुसारको तालिममा पठाउनु पर्ने र जो विद्यार्थीले पढाएको क्षेत्रमा केही गर्न सक्दैन उसलाई पढाएर नबिग्रार्न सुझाव दिन्छन् । यसैबीच विद्यालयमा विशेष समारोह आयोजना हुन्छ। शिक्षा अधिकारीले लेखकको खुलेर प्रशंसा गर्छन् र यतिकैमा लेखकले आफ्नो कलम पनि बन्द गर्छन्।

आफ्नो पेशामा शिक्षक कसरी दत्तचित्त भएर लाग्नुपर्छ भन्ने कुरा गिजुभाईले भोगेका कुरा दिवास्वप्न किताबमा उतारेका छन् । नपढ्ने विद्यार्थीलाई विद्यालयबाट किक आउट गर्नु भनिएको उसलाई पढाइबाट वञ्चित गराउने भएकोले पङ्क्तिकारले अब्जसन जनाउँछ । विद्यार्थी भविष्यको कर्णधार हुन् । पढाइमा विद्यार्थीको मन नजानुमा उसको कारण के हो भन्ने विषयमा पत्ता लगाउनु पर्दछ । यदि पत्ता नलगाएको खण्डमा विद्यार्थी, अभिभावक र शिक्षकलाई राखेर राउण्ड टेबल टक गर्नुपर्ने आवश्यक देखिन्छ । विद्यार्थीलाई विद्यालयबाट किक आउट गरेर उसको जिन्दगीको सपना अन्धकारतर्फ धकेल्ने अधिकार लेखकसँग छैन र विद्यालयबाट विद्यार्थीलाई किकआउट गरेमा उसको भागिदार स्वयम् लेखक हुने यो पङ्क्तिकारको ठम्याई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button