संस्मरण : बैंकिङ्ग क्षेत्रमा बढेका पाइला

पचास वर्ष अघि बीस वर्ष उमेर नपुग्दै आजको दिन (२०२९ असोज ५ गते ) देशको केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) को सेवामा खुला प्रतिस्पर्धाको माध्यमबाट जोडिएको थिए ।
शिक्षाको महत्त्व
वीरगञ्ज स्थित ठाकुर राम कलेजमा आइ एस्सि पढ्दा पढ्दै जागिर त शुरु गरे तर पढाइलाई निरन्तरता नदिएको कारण बढुवामा निकै पछाडी परेको थिएँ । पछि प्राइभेट परिक्षार्थिको रूपमा प्रमाणपत्र तह र स्नातक गरि १४ वर्ष पछि मात्र प्रधान सहायक पदमा बढुवा हुन सकेको थिएँ ।


काममा दिनुपर्ने ध्यान
त्यस भन्दा अघि जागीर खाएको एक वर्ष नपुग्दै भारु सटही काउन्टरमा काम गर्दा आफ्नै असावधानीवश करिब रु ६ हजार जति नगद कम भै सोधभर्ना तिर्नु पर्दा केही आर्थिक संकट परेको तितो अनुभव व्यहोर्नुपरेको थियो ।
वृत्ति विकासको खोजी
जिल्ला स्थित शाखा कार्यालयमा काम गर्दा अपेक्षित वृती विकास नहुने देखेर २०४५ साल तिर केन्द्रीय कार्यालय सरुवा मागी काठमाडौ लागेको थिए । काठमाडौ गएको केही वर्ष भित्रै अर्थशास्त्रमा स्नातकोत्तर गरे ।
आँटे सम्भव छ
प्रधान सहायक पदमा बढुवा भएको पाँच वर्ष पुरा भएको लगत्तै अधिकृत तृतीयको आन्तरिक लिखित परीक्षाबाट रिक्त ३ वटा पदमा प्रतिस्पर्धा गरि अधिकृत स्तरमा बढुवा भएको थिए । यो परिक्षामा सम्मिलित हुने क्रममा रमाइलो अनुभव रह्यो । एकजना सहकर्मी भाइले दाइ तपाईंले आन्तरिक बढुवामा प्रतिस्पर्धा नगरे पनि हुन्छ , फ्रेस एम बि ए गरेका हामी २० जना प्रतिस्पर्धामा छौ, रिक्त पद ३ वटा मात्र छ, तपाई सक्नु हुन्न भनेका थिए । उनलाई मेरो जवाफ थियो – मलाई तपाईंहरुसंग होइन आफैसंग प्रतिस्पर्धा गर्नुछ र मेरो सफलता निश्चित छ , भनेको थिए । परिणाम त्यस्तै भयो । ३ वटा रिक्त पदमा म दोस्रो भै बढुवा भएको थियो । ५ वर्ष पछि फेरि आन्तरिक बढुवाको लिखित परिक्षामा सफल भै अधिकृत द्वितीय पदमा बढुवा भए ।
कर्मको फल मिठो
विदेशी विनिमय विभागमा मेरो सहायक नियन्त्रकको रूपमा पदस्थापना भएको थियो। यस विभागमा वैदेशिक तालिमको अवसर अलि बढी नै आउने भएकोले हाकिमको कक्षमा अधिकृत र कर्मचारीहरुको भेटघाट विशेष भैरहन्थ्यो । काम विशेषले हाकिमको कोठामा म दैनिक ३-४ पल्ट जानुपर्ने हुन्थ्यो तर तालिममा मलाई विदेश पठाइ दिन कहिल्यै नभनेको देखेर हाकिम आफै सकारात्मक हुँदै पहिलो पल्ट जर्मनी र बेलायतमा एक महिने तालिममा पठाए । पछि फ्रान्स , जापान , पुन दुई पटक बेलायत , फिलिपिन्स , सिङ्गापुर, थाइल्यान्ड , बाङ्लादेश , भारतमा तालिमको अवसरहरु जुटेको थियो ।
अवसरहरु वरिपरि हुन्छन
सरकारले लिएको वैदेशिक ऋणको किस्ता भुक्तानी यसै विभाग मार्फत हुने गरेकोमा संयुक्त अधिराज्य बेलायतको अनुदान सहयोगमा वैदेशिक ऋण तथा आन्तरिक ऋणको सफ्टवेयर लेखा प्रणाली लिपिबद्द गर्ने परियोजनामा काम गर्न परियोजना अधिकृतको रुपमा अर्थमन्त्रालय काजमा मलाई खटाइयो । बिदेशी बिज्ञसङ्गको काम अनुभव , परियोजना भत्ता दिल्ली ,बैङ्गकक र दुई पटक बेलायत तालिमको सुबिधा सहित ३ वर्षको समय निकै उत्पादनशिल तथा उर्जाशिल रहेको थियो
इमानदारीता नै सर्वश्रेष्ठ नीति
परियोजनाबाट राष्ट्र बैंक काज फिर्ता भएको करिब २ वर्ष नपुग्दै ग्रामीण विकास बैंकको कार्यकारी निर्देशकको रुपमा कामकाज गर्न राष्ट्र बैंकले ४ वर्षको लागि काज खटायो । जनयुद्धको समय कतिपय शाखाहरु बन्द रहेका र कर्जा असुलीको समस्या र केही व्यवस्थापकीय कमजोरीले गर्दा संस्था घाटामा थियो । इमान्दार संकल्प , कडा मेहनत र बलियो टिमवर्कको कारण सबै समस्या र चुनौतीहरु पाखा लाग्दै गयो र संस्था सबल हुन सकेको थियो ।
अवकाश नलिनु जीवनमा
ग्रामीण बैंकमा तीन वर्ष काम गर्दै गर्दा राष्ट्र बैंकको सेवाबाट ३० वर्ष सेवा अवधी पुरा भएको कारण मेरो अवकाश भयो । तर ग्रामीण बैंकको सुदृढीकरण तीब्रगतिमा रहेकोले राष्ट्र बैंकबाट अवकाश भएता पनि राष्ट्र बैंकको पुन मनोनयनमा ग्रामीण बैंकको सेवामा निरन्तरता पाएको थिए ।

ग्रामीण बैंकको सेवा पछि आफ्नै अगुवाइमा अन्य लगानीकर्ता को सहयोगमा हेटौंडामा ” अल्पाइन डेभलपमेन्ट बैंक लि” स्थापना गरि प्रमुख कार्यकारी अधिकृतको रूपमा ८ वर्ष बढी समय र पछि एक वर्ष अध्यक्षको रूपमा सेवा गरि उक्त डेभलपमेन्ट बैंकलाई सेन्चुरी बैंकमा मर्ज गरि ४५ वर्ष लामो मेरो बैकिङ्ग यात्राले २०७४ सालमा विश्राम लिएको थियो ।

अवकाश नलिनु जीवनमा भन्ने आफ्नै सोचलाई पछ्याउँदै हाल नलेज भिलेज नेपाल प्रा लि, अर्थ आकाश साप्ताहिक पत्रिका, सहिद स्मारक हेटौंडा, सुदर्शन फाउन्डेसन र मानववादी संस्थाहरुमा आवद्ध रहेको छु ।

( “बैकिङ्ग क्षेत्रमा बढेका पाइला” नामक मेरो व्यवसायिक आत्मकथा छिटो प्रकाशनको क्रममा रहेको छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button