हेटौँडा, नेपाल स्पोर्ट क्लबको आयोजनामा हेटौंडामा सञ्चालन भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड क्लबले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमन्डले उपाधि जितेको हो । डाइमन्डले एपीएफलाई २५-१२, २५-२३ र २५-१८ को सोझो सेटमा पराजित गरेको हो । उपाधि विजेता न्यु डायमन्डले ५ लाख रुपैयाँ प्राप्त गर्दा एपीएफले भने ३ लाखमै चित्त बुझाउन बाध्य भएको छ । नेपाल पुलिस क्लब तेस्रो र गण्डकी प्रदेश चौथो बन्यो । पुलिसले एक लाख र गण्डकीले ५१ हजार रुपैयाँ प्राप्त गर्यो ।
उदयीमान खेलाडी गण्डकी प्रदेश रिक्जना भोटे, उत्कृष्ट सर्भर कोपिला राना पुलिस, उत्कृष्ट लिब्रो न्यु डायमन्ड सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफ गरिमा बोहोरा, उत्कृष्ट सेटर न्यु डायमन्ड प्रगति नाथ, उत्कृष्ट स्पाइकर एपीएफ निरुता ठगुन्ना र बेस्ट प्लेयर डाइमन्डकी सुमित्रा रेग्मी चुनिए । सबैलाई नगदसहित सम्मान गरिएको थियो । असार ७ गतेबाट हेटौंडा(४ को हुप्रचौरमा सुरु भएको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।
नेपाल स्पोर्ट सेन्टरले हेटौँडामा पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडा, खेलकुद महासंघ समाजवादीका अध्यक्ष अर्जुनभक्त राईलगायतले पुरस्कार वितरण गरेका हुन् ।






