हेटौँडा, बागमती प्रदेश सरकारले आगामी दशैँलगत्तै सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ र वितरण सुरु गर्ने तयारी गरेको छ। यसका लागि प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ वटा स्थानमा आधुनिक मेसिन जडान गर्ने प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयकी प्रवक्ता सुनिता गजुरेलका अनुसार अब प्रदेशमै ‘क्यूआर कोड’सहितको लाइसेन्स छपाइ हुने व्यवस्था मिलाइँदैछ। ‘लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य गर्न ५ स्थानबाटै सेवा दिने तयारी भइरहेको छ,’ उनले भनिन्। यसअघि चालक अनुमतिपत्र यातायात व्यवस्था विभागमार्फत मात्र छापिँदै आएको थियो। विभागमा चाप बढेसँगै सेवाग्राहीले समयमै लाइसेन्स पाउन कठिन भएको हुँदा प्रदेशमै प्रणाली ल्याइएको मन्त्रालयले जनाएको छ।
यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार हाल करिब ३० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ। त्यसमध्ये बागमती प्रदेश अन्तर्गत मात्र करिब १८ लाख लाइसेन्स बाँकी रहेको अनुमान छ। विगत तीन वर्षअघि ट्रायल पास गरेका र नवीकरणका लागि निवेदन दिएका धेरै सेवाग्राही अझै लाइसेन्स पाउन सकेका छैनन्।
केन्द्र सरकारले २०८० माघ ७ गतेदेखि प्रदेशहरूले पनि लाइसेन्स छाप्न सक्ने निर्णय गरेअनुसार बागमती प्रदेशले सेवा सञ्चालन गर्न लागेको हो। मन्त्रालयका सूचना अधिकारी विनोद कुमार भट्टराईका अनुसार इटालियन कम्पनीबाट ५ करोड ४० लाख रुपैयाँमा ५ वटा मेसिन खरिद गरी जडान भइरहेको छ। मालिका कर्पोरेसन काठमाडौँले टेण्डर अनुसार मेसिन आपूर्ति गरेको उनले बताए।
श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले मेसिन सञ्चालनमा आएपछि सेवाग्राहीले सहज सुविधा पाउने बताए। “दसैँ–तिहारलगत्तै नागरिकले सहज रूपमा लाइसेन्स सेवा पाउनेछन्। हाम्रो लक्ष्य जनतालाई लामो प्रतीक्षा र झन्झटबाट मुक्त गर्नु हो,” मन्त्री थापाले भने। मन्त्री थापाका अनुसार ५ मेसिनबाट प्रतिघण्टा ७५० वटा लाइसेन्स छाप्न सकिनेछ। प्रत्येक मेसिनबाट प्रतिघण्टा करिब १५० लाइसेन्स उत्पादन हुने क्षमता रहेको छ। हाल खरिद गरिएका मेसिनहरू काठमाडौँ, भक्तपुर, ललितपुर र हेटौँडामा जडान गरिने मन्त्रालयले जनाएको छ।






