हेटौँडा, त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धन त्यागेर बागमती विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा समायोजन भएको हेटौँडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि सञ्चालन गर्ने नयाँ शैक्षिक कार्यक्रम सार्वजनिक गरेको छ । क्याम्पसले सूचना प्रविधि, व्यवस्थापन, कानून, होटल व्यवस्थापन तथा शिक्षा संकायअन्तर्गतका विभिन्न समयसापेक्ष र व्यावसायिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
यस विषयमा जानकारी दिन शुक्रबार हेटौँडा क्याम्पसको सभाहलमा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरले स्थानीय स्तरमै गुणस्तरीय र व्यावसायिक शिक्षा उपलब्ध गराउँदै विद्यार्थीलाई आधुनिक ज्ञान, सीप तथा रोजगारीसँग जोड्ने उद्देश्यसहित नयाँ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
क्याम्पसले आगामी शैक्षिक सत्रदेखि बीबीए (Bachelor of Business Administration), बीआईटी (Bachelor of Information Technology), बीएचएम (Bachelor of Hotel Management), पाँच वर्षे एकीकृत बीएएलएलबी, तीन वर्षे एलएलबी तथा बीएड कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
क्याम्पसका अनुसार सूचना प्रविधि स्नातक (BIT) कार्यक्रम डिजिटल युगको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको हो । यस कार्यक्रममार्फत विद्यार्थीहरूले सफ्टवेयर विकास, डाटाबेस व्यवस्थापन, नेटवर्किङ तथा साइबर सुरक्षासम्बन्धी ज्ञान हासिल गर्नेछन् । अध्ययनपछि सफ्टवेयर इन्जिनियर, वेब डिजाइनर, साइबर सुरक्षा विशेषज्ञ तथा आईटी व्यवस्थापकका रूपमा करियर निर्माण गर्न सकिने डा. मानन्धरले बताए ।
त्यसैगरी व्यवसाय प्रशासन स्नातक (BBA) कार्यक्रममार्फत नेतृत्व क्षमता, व्यवस्थापन कला तथा व्यावसायिक रणनीतिको विकासमा जोड दिइने जनाइएको छ । यसबाट बैंकिङ, वित्तीय संस्था, मार्केटिङ तथा मानव संसाधन व्यवस्थापन क्षेत्रमा रोजगारीका अवसर प्राप्त हुने क्याम्पसले जनाएको छ ।
कानून शिक्षातर्फ पाँच वर्षे एकीकृत बीएएलएलबी तथा तीन वर्षे एलएलबी कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले संविधान, न्यायिक प्रणाली, फौजदारी तथा दिवानी कानूनको गहिरो अध्ययन गर्नेछन् । अध्ययनपछि अधिवक्ता, न्यायाधीश, सरकारी वकील तथा कानुनी सल्लाहकारका रूपमा अवसरहरू प्राप्त हुने डा. मानन्धरले बताए ।
हस्पिटालिटी तथा पर्यटन क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूका लागि बीएचएम कार्यक्रम सञ्चालन गरिने भएको छ । यसअन्तर्गत होटल सञ्चालन, पाहुना सत्कार, खाना पकाउने कला, कोठा व्यवस्थापन तथा खाना र पेय पदार्थ सेवा सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ । अध्ययनपछि पाँचतारे होटल, अन्तर्राष्ट्रिय क्रुज सेवा, एयरलाइन्स तथा आफ्नै होटल वा रेष्टुरेन्ट सञ्चालन गर्ने अवसर रहने क्याम्पसले जनाएको छ ।
त्यसैगरी शिक्षा संकायतर्फ सञ्चालन गरिने बीएड कार्यक्रमलाई आधुनिक तथा प्रविधिमैत्री बनाइएको क्याम्पसले जनाएको छ । कार्यक्रममा दोहोरो मुख्य विषय (Double Major), व्यावसायिक विषय तथा सूचना प्रविधिसम्बन्धी पाठ्यक्रम समावेश गरिएको छ । यसले विद्यार्थीलाई आधुनिक शिक्षण पद्धति, नेतृत्व क्षमता, शैक्षिक परामर्श तथा पाठ्यक्रम विकासमा दक्ष बनाउने विश्वास व्यक्त गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले नयाँ शैक्षिक कार्यक्रम सञ्चालनपछि हेटौँडालाई शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने बताए । स्थानीय स्तरमै गुणस्तरीय तथा व्यावसायिक शिक्षा उपलब्ध हुँदा विद्यार्थीहरूको बाहिरिने क्रम कम हुने, समय तथा खर्च बचत हुने र स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन हुने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले पाठ्यक्रमको प्रभावकारिता, आवश्यक पूर्वाधार निर्माण, दक्ष जनशक्ति व्यवस्थापन तथा बजारको मागअनुसारको शिक्षामा विशेष जोड दिनुपर्ने सुझाव दिएका थिए ।
क्याम्पस परिवारले नवीन शैक्षिक योजनाले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणसँगै हेटौँडा तथा समग्र मकवानपुरको शैक्षिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा क्याम्पसका सहायक प्रमुख डा. लिलानाथ ढुंगेल, डा. विजय नेपाल, प्राध्यापक अर्पण पराजुलीलगायतको उपस्थिति रहेको थियो ।






