हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभा बाट विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत परेको हो।
सत्ता गठबन्धनको एक सदस्य अनुपस्थित हुँदा उनको पक्षमा मत संख्या थपिन सकेन। कुल ११० सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ। बानियाँलाई नेपाली कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका थिए। कांग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार विदेशमा भएकाले बैठकमा सहभागी भएनन्।
बैठकमा उपस्थित ९२ सदस्यमध्ये २२ जनाले विपक्षमा मत दिए भने ७ जनाले तटस्थ रहे।
१८ सांसद अनुपस्थित रहे भने सभामुखले मत विभाजनमा भाग लिएनन्। गत साउन २० मा एमाले र कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँले नेपालको संविधानको धारा १६८(४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३(४) बमोजिम विश्वासको मत लिएका हुन्।






