बागमतीमा बजेटका लागि नयाँ व्यवस्था

हेटौँडा, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम तर्जुमाका लागि आयोजना तथा कार्यक्रम छनोटमा नयाँ व्यवस्था लागू गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माणको तयारीस्वरूप आयोजनाको बजेट सीमा निर्धारणसँगै आयोजना छनोट अब जिल्लाबाट सिफारिस गर्नुपर्ने व्यवस्था गरेको हो ।

ADVERTISEMENT

मन्त्रालयले ‘वार्षिक आयोजना प्रस्ताव तथा छनोटसम्बन्धी निर्देशिका, २०८३’ जारी गर्दै जिल्लास्तरीय आयोजना प्रस्ताव छनोट तथा सिफारिस समिति गठन गर्ने व्यवस्था गरेको छ । उक्त समितिले छनोट गरेका आयोजनाहरू सम्बन्धित विषयगत मन्त्रालयमा सिफारिस गरिनेछ ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार प्रदेश सरकारका जिल्लास्थित कार्यालयमार्फत सूचना प्रकाशित गरी प्राप्त भएका आयोजना प्रस्ताव, प्रदेशसभा सदस्यले आवश्यक ठानेका तथा स्थानीय तहको स्रोतबाट सम्पन्न हुन नसक्ने आयोजनाहरूलाई प्राथमिकतामा राखेर सिफारिस गरिनेछ । यसका लागि प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको संयोजकत्वमा आयोजना छनोट सिफारिस समिति गठन गरिनेछ ।

समितिमा सम्बन्धित निर्वाचन क्षेत्रका समानुपातिकतर्फका प्रदेशसभा सदस्य सह–संयोजक रहनेछन् भने स्थानीय तहका प्रमुख/उपप्रमुख वा प्रमुखले तोकेको निर्वाचित जनप्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ । साथै प्रदेश सरकारका योजना कार्यान्वयन गर्ने विषयगत कार्यालय वा निकायका प्रमुख सदस्य सचिवको भूमिकामा रहनेछन् ।

मन्त्री तामाङले बजेट तथा कार्यक्रम प्रस्ताव गर्दा प्रदेशको आवधिक योजना, क्षेत्रगत नीति तथा योजनाको आधारमा आगामी तीन वर्षसम्मको खर्च प्रक्षेपणसहित मन्त्रालय तथा निकायगत मध्यकालीन खर्च संरचना पेस गर्नुपर्ने बताउनुभयो ।

Advertisement 5

प्रस्तावित आयोजनाहरूको विस्तृत छलफल, अन्तरक्रिया तथा विश्लेषणपछि मात्रै उपयुक्त आयोजना छनोट गरिनेछ । छनोट प्रक्रियामा भौगोलिक सन्तुलन, जिल्लागत तथा स्थानीय तहगत समानता कायम गर्ने र दोहोरोपन नहुने सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *