हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशभित्रका कुनै पनि विपन्न नागरिकलाई घरविहीन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आर्थिक अवस्था कमजोर भएका र आफैँ घर निर्माण गर्न नसक्ने नागरिकका लागि चालु आर्थिक वर्षमा एक हजार घर निर्माण गर्ने गरी प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
मंगलबार मनहरि गाउँपालिका–७, समिलडाँडास्थित चेपाङ बस्तीमा आयोजित कपडा तथा भाँडाकुँडा वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले मुख्यमन्त्री आवास कार्यक्रममार्फत विपन्न नागरिकको आवास समस्या समाधान गर्न सरकार अघि बढेको बताउनुभयो ।
उहाँले विशेषगरी चेपाङ समुदायको आवास समस्यालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै घरविहीन चेपाङ परिवारका लागि प्रतिपरिवार चार लाख रुपैयाँका दरले घर निर्माण गर्ने प्रक्रिया अघि बढाइने बताउनुभयो । “बागमती प्रदेश सरकारले कुनै पनि विपन्नलाई घरविहीन बन्न दिँदैन । जसको घर छैन, जो विपन्न छ र जसले आफैँ घर बनाउन सक्दैन, त्यस्ता व्यक्तिका लागि यस वर्ष एक हजार घर बनाउने गरी बजेट विनियोजन गरेका छौँ,” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री थापाले आवाससँगै विपन्न परिवारको आयआर्जन र आर्थिक आत्मनिर्भरतालाई पनि सरकारले प्राथमिकता दिएको बताउनुभयो । नागरिकको आवश्यकताअनुसार कुखुरा, बाख्रा तथा भैँसीपालनजस्ता व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने गरी बजेट व्यवस्था गरिएको उहाँको भनाइ थियो ।
उहाँले विपन्न बस्तीमा देखिएका खानेपानी, सुरक्षा तथा अन्य सामाजिक समस्याको समाधानमा समेत प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बस्तीमा दुर्व्यसन नियन्त्रणका लागि सीसीटीभी जडान तथा खानेपानीको समस्या समाधानमा आवश्यक पहल गरिने उहाँले बताउनुभयो । “प्रदेश सरकारसँग भएको स्रोतले गर्न सकिने सबै काम गर्छौँ । जनताले बढीभन्दा बढी लाभ पाउने गरी देखिने काम गर्न सरकार प्रतिबद्ध छ,” उहाँले भन्नुभयो ।
चेपाङ बस्तीका नागरिकको दयनीय अवस्था प्रत्यक्ष देखेपछि आफू भावुक भएको मुख्यमन्त्री थापाले सुनाउनुभयो । नेकपा एमालेले निर्माण गरेको घर हस्तान्तरण कार्यक्रममा सहभागी हुन बस्ती पुग्दा त्यहाँका परिवारसँग दैनिक जीवनयापनका लागि आवश्यक भाँडाकुँडा, लत्ताकपडा तथा ओढ्ने–ओछ्याउने सामग्रीसमेत नभएको अवस्था देखेको उहाँले बताउनुभयो ।
बस्तीको अवस्था देखेपछि तत्काल मानवीय सहयोग जुटाउन आफूले पहल गरेको उहाँको भनाइ थियो । मुख्यमन्त्रीको आग्रहपछि विजय अग्रवालले मारवाडी सेवा समिति, मारवाडी महिला मञ्चलगायत संस्थासँग समन्वय गरी सहयोग जुटाउनुभएको थियो । उक्त सामग्री वितरणमा प्रदेश सरकारले आर्थिक रकम विनियोजन नगरेको स्पष्ट पार्दै उहाँले समाजसेवी रेखा खेतानलगायतको टोलीले सहयोग व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
मारवाडी महिला मञ्चकी अध्यक्ष रेखा खेतानको अध्यक्षतामा आयोजित कार्यक्रममा समिलडाँडास्थित चेपाङ बस्तीका ३५ परिवारलाई अत्यावश्यक सामग्री वितरण गरिएको थियो । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको बस्तीका परिवारलाई जाडोबाट जोगिन तथा दैनिक जीवनयापन सहज बनाउन खाद्य सामग्री, भाँडाकुँडा, लत्ताकपडा र ओढ्ने–ओछ्याउने सामग्री उपलब्ध गराइएको हो ।
कार्यक्रममा चेपाङ परिवारलाई डेक्ची, कराई, प्रेसर कुकर, डाडु–पन्यु, बाल्टी, पानी खाने मग, थाल, गिलास, ग्यास, खटिया, सिरक, डसना, कम्बल, झुल, ज्याकेट, टोपीलगायत सामग्री हस्तान्तरण गरिएको थियो ।







