सामान्य विवादमा छिमेकीको हत्या, अभियुक्त पक्राउ

हेटौंडा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा सामान्य विवाद हुँदा स्थानीय एक युवाले छिमेकी महिलाको हत्या गरेका छन् । मंसिर १३ गतेदेखि बेपत्ता भएकी स्थानीय ३५ वर्षीया सरस्वती वाइबाको शव शनिबार साँझ आधा शरीर गाडिएको अवस्थामा फेला परेको थियो । वाइबालाई स्थानीय ३३ वर्षीय रोज वाइबाले सामान्य विवादमा हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

ADVERTISEMENT

प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । सामान्य विवादमा छिमेकीको हत्या गरेर आफ्नै घर नजिकैको बारीमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले जानकारी दिए । श्रीमति बेपत्ता भएपछि वीरबहादुर वाइबाले मंसिर १७ गते खोजबीन गरी पाउँ भन्दै प्रहरी चौकी सिस्नेरीमा निवेदन दिएका थिए । २४ गते मृतकका पति र प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शनिबार साँझ सिस्नेरीस्थित रोज वाइबाको बारीमा खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको थियो । शव फेला परेपछि ईलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृतको टोलीले अनुसन्धान थालेको थियो । शंकाको आधारमा स्थान्ीय रोज वाइबालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा मारेर आफ्नै बारीमा खाल्डो खनेर पुरेको स्वीकार गरेको प्रहरी उपरीक्षक गौतमले बताए । ‘ठूलो रिसिइबी नरेहेको र सामान्य भनाभन हुँदा हत्या भएको पाइएको छ । बाटोमा दुवैजनाको भेट हुँदा रोजले सरस्वतीलाई प्रश्न गरेको र सोझो उत्तर नआएपछि कुटपिट गरेको खुलेको छ । कुटपिट गर्दा ढुंगामा ठोक्किन पुगेको बयान दिएको छ’, गौतमले भने, ‘हत्यामा संलग्न व्यक्ति र मृतक छिमेकी भएको पाइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको छ ।’ वाइबालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *