हेटौँडा, वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनका लागि वैज्ञानिक महाविर पुनको अभियानमा हेटौँडा उपमहानगरपालिकाले ५ लाख रुपियाँ बराबर सहयोग गर्ने भएको छ । विहीबार पुस्तक बिक्री अभियान लिएर हेटौँडा उपमहानगरपालिका आइपुगेका पुनको अभियानमा सहयोग गर्दै ५ लाख रुपियाँ बराबरको पुस्तक खरिद गर्ने प्रतिबद्धता जनाएको हो ।
पुस्तक बिक्री अभियानमा २०२ दिन देखि हिँडिरहेका पुनले सबैको सहयोगबाट पुस्तकको बिक्री क्रम बढिरहेको बताएका थिए । सुदूरपश्चिम प्रदेश बाट अभियान सञ्चालन गरेका वैज्ञानिक पुनले लुम्बिनी, गण्डकी हुँदै बागमती प्रदेशको चितवन र हेटौडामा पुस्तक बिक्री गरिरहेका छन् । हेटौडामा अझै केही दिन बिक्री अभियान सञ्चालन गर्ने सोच रहेको उनले बताए । उपमहानगरपालिकाको सभाहलमा आयोजना भएको पुनको स्वगतमा नगर प्रमुख मीनाकुमारी लामाले स्वच्छ रुपमा सञ्चालन गरिएको अभियानमा उपमहानगरले साथ दिने बताइन् ।
उनले नगरका बिभिन्न वडा, पुस्तकालय, ज्ञान केन्द्रहरूका लागि खरीद गरेको पुस्तक अध्ययनका लागि राख्ने व्यवस्था मिलाउँने बताइन् । पुस्तक अभियानमा उपमहानगर आइपुगेको वैज्ञानिक पुनले सरकारले काम लगाएर भुक्तानी नदिएपनि आफैले कृषि औजार कारखाना सञ्चालनको तयारी गरेको बताए । उनले वीरगञ्जमा रहेको कारखानालाई मर्मतको जिम्मेवारी दिएपनि काम पछि भुक्तानीको व्यवस्था नगर्दा आफै कारखाना सञ्चालनको अभियानमा जोडिएको बताए । उनले भने ‘दिएको जिम्मेवारी अनुसार १ करोड रुपियाँ खर्च गरेर काम ग¥यौं, भुक्तानीको समयमा समस्या भयो, सरकारले पैसा दिने सम्भावना नदेखेपछि कारखाना सञ्चालनको तयारी अघि बढायौँ ।’
उनले अहिले पनि साना किसिमका औजारको उत्पादन थालिएको बताए । आउँदो ६ महिना भित्र बजारमा जाने गरी ८÷९ वटा कृषि औजारको उत्पादन गरी वैज्ञानिक ढङ्गबाट अनुसन्धान गरिरहेको जानकारी दिए । चिन र भारतबाट आउँने औजारको मात्रालाई केही प्रतिशत रोक्न सकेमात्र मुलुकलाई आर्थिक भार नपर्ने गरी कामलाई अघि बढाइएको वैज्ञानिक पुनले जानकारी दिए ।देशभर पुस्तक बिक्री अभियानमा रहेका उनले अहिले सम्म १ लाख २५ हजार पुस्तक बिक्री गरीरहेको बताए । जनसंख्याको १ प्रतिशतले मात्र पुस्तक खरीद गरेपनि कारखाना सञ्चालनका लागि २० करोड रुपियाँ संकलन गर्न सकिने उनको आकलन थियो । २०४९ सालबाट बन्द रहेको कारखाना सञ्चालनका लागि पुनकै नेतृत्वमा मर्मत गरीएको थियो । कारखाना सञ्चालन पछि ४ सय जना नागरीकले प्रत्यक्ष रोजगारी पाउँने बताइएको छ ।
उपमहानगरमा आएका बैज्ञानिक पुनलाई नगर उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले स्वागत गर्दै नगरले अभियानमा साथ दिर्दै पुस्तक खरीद गर्ने बताए । राष्ट्रका लागि सञ्चालन गरीएको अभियानलाई सबैले सहयोग गर्नुपर्ने भन्दै उपमहानगर पनि साथ दिन तयार रहेको जानकारी दिए । कारखानाबाट उत्पादन भएको कृषि औजारले मुलुकको कृषि क्रान्तिमा नयाँ आयाम थप्ने बिश्वास व्यक्त गरे ।







