होटलमा एकजना पुरुष मृत फेला

हेटौंडा, बागमती प्रदेशको राजधानी हेटौंडाको एक होटलमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहीवार दिउँसो १२ः२० बजेको समयमा हेटौंडा–१०, बसपार्कमा श्याम सुन्दर तिवारीले संचालन गरेको चण्डिका होटलमा एकजना पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

मृतक पुरुष राक्सिराङ गाउँपालिका–४ नम्बर वडाका २८ वर्षीय सरोज शाह रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालयका अनुसार मृतक शाहको शव खाटमा पलेँटी कसेर बसेको अवस्थामै मुन्टो घोप्टो परेको स्थितिमा भेटिएको थियो ।

प्रहरीले शाह बस्ने कोठामा सानो प्लेटमा सिक्का पैसा, ड्रग्स जस्तो देखिने सेतो पदार्थ र ब्लेड फेला पारेको जनाएको छ । ‘मादक पदार्थ सेवन गरेको र कोठामा लागूपदार्थ जस्तो सेतो वस्तु भेटिएकोले ओभर डोजको अनुमान छ । तर जाँच नभइसकेकाले यही नै कारण हो भन्न सकिँदैन्,’ डिएसपी अर्यालले भने ।

नाकबाट रगत बगेको अवस्थामा भेटिएका शाह बुधबार साँझ हेटौंडा–४ कमलडाँडामा मादकपदार्थ सेवन गरेर साँझ साढे ६ बजे होटलमा आइपुगेको अर्यालले जानकारी दिए । मृतक शाहलाई नेपाली प्रहरीका एक जना कर्मचारीले नै होटलमा पुर्‍याउन आएका थिए । प्रहरीले उनलाई सोधपुछ गरेको छ ।‘मृतक आफ्नो आफन्तसँग बसेर मादकपदार्थ सेवन गरिरहेको अवस्थामा हाम्रो कर्मचारीलाई होटलमा पुर्‍याउन लगाइएको रहेछ । उनीहरू मिल्ने साथी रहेछन् । सोधपुछको क्रममा साथी भएकाले होटलसम्म पुर्‍याएर फर्किएको बताएका छन्,’ उनले भने ।

शाह १५ पुसदेखि होटलमा निरन्तर बस्दै आएका थिए । दिउस काम गर्न जान्छु भनेर निस्किने र साँझ होटलमा आएर बस्ने गरेको डिएसपी अर्यालले बताए । आज बिहान ढोका नखुलेको र मृतक शाह होटल बाहिर पनि निस्किएपछि होटल सञ्चालकले झ्यालबाट हेर्दा शंकास्पद लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button