हेटौंडा, जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत भएको २ किलोमिटर खुला दौड प्रतियोगितामा मनहरी ९ रजैयाका प्रताप लामा प्रथम भएका छन् । अन्य १५ प्रतिस्पर्धीलाई उछिन्दै उनी प्रथम भएका हुन् । उनी थ्रीस्टार क्लवबाट फुटबल खेल्दै आएका ए डिभिजन खेलाडी हुन् । प्रतियोगितामा मनहरी ३ लामिटारका रामबहादुर राई द्वितीय हुँदा रजैयाकै दिपेन्द्र न्यौपाने तृतीय भएका छन् ।
प्रथम, द्वितीय र तृतीय भएकाहरुले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उनीहरुलाई जेसीज सप्ताहको समापनको क्रममा पुरस्कार प्रदान गरिनेछ । कार्यक्रम संयोजक मनिष पौडेलको संयोजकत्व एवम् चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो । वडा अध्यक्ष थापाले जेसीज लगायतका संस्थाले सामाजिक विकासमा महत्वपूर्ण सघाउ पु¥याउँदै आएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले सामाजिक संघसंस्थाहरुसँग समन्वय गरेर अघि बढ्न तयार रहेको बताए । राजनीतिक दलसहित अन्य विभिन्न सामाजिक संस्थाले जेसीजबाट एक व्यक्ति, एक वर्ष, एक कार्यकालको नीति र विधिको शासनलाई आत्मसाथ गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा जेसीजका अध्यक्ष सल्लाहकार विदुर थापा, स्थानीय नवज्योति प्राविका शिक्षक नविनकुमार रेग्मी, जेसीज सप्ताह सहमूल कार्यक्रम संयोजक मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी राजेन्द्र कुँवर, लामिटार मध्यवर्ती सामुदायिक उपभोक्ता समूहका कोषाध्यक्ष जयराम राई, सानाकिसान सहकारीका व्यवस्थापक सुरेन्द्र तितुङ लगायतको आतिथ्यता रहेको थियो ।







