हेटौंडा, मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा हुन लागेको १७ औँ संस्करणको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ । यही माघ २५ र २६ गते हेटौंडा–४ स्थित कभर्ड हलमा आयोजना हुने जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष लालकाजि रत्न बज्राचार्यले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले प्रतियोगिता उद्घाटन गर्ने छिन् । ‘मकवानपुर जिल्ला तेक्वान्दो संघको कार्यसमितिकै सहयोगमा १७ औँ संस्करणको जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागेका हौँ ।’ अध्यक्ष बज्राचार्यले भने –‘प्रतियोगिता सञ्चालनको लागि करिव ३ लाख रुपैयाँ खर्च लाग्ने छ । खेलाडीको लागि खाना र बस्नको व्यवस्था मिलाएका छौँ ।’
दुईदिन सञ्चालन हुने प्रतियोगितामा जिल्लाका २२ वटा डोजाङबाट विभिन्न तौल समूहमा ३ सय जना खेलाडीले सहभागिता जनाउने उनले बताए । प्रतियोगितामा टिम प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।







