हेटौंडा/आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा म्यादी प्रहरीको छनौट भएको छ । जिल्ला प्रहरी कार्यालयले छनौट भएका म्यादी प्रहरीको नाम सार्वजनिक गरेको छ । पूर्व सुरक्षाकर्मी र पूर्व म्यादी प्रहरीतर्फ ८०५ जना, खुलातर्फ ८९४ जना गरी एकहजार ६९९ जनालाई छनौट गरेको छ ।
२० प्रतिशतलाई वैकल्पिक उम्मेदवारको रुपमा छनौट गरेको छ । वैकल्पिकमा ३३५ जना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । म्यादी प्रहरीका लागि सफल उम्मेदवारहरुलाई बुधबारबाटै नियुक्तीपत्र प्रदान गरिने र ३० गतेबाट १० दिनको तालिम दिइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौमतले जानकारी दिए ।
‘मकवानपुरको लागि १६९९ जनाको कोटा हो । हामीले सोही अनुसार म्यादी प्रहरी छनौट गरेका छौं’, उनले भने, ‘तालिम पश्चात उनीहरुलाई केन्द्रले छुट्याएको मापदण्ड अनुसार सम्बन्धित स्थानमा खटाइनेछ ।’ अन्तरवार्तामा सहभागी उम्मेदवारमध्ये योग्यताक्रम अनुसार सफल र वैकल्पिक उम्मेदवारको नाम सार्वजनिक गरिएको उनले बताए ।







