हेटौंडा, हेटौंडा ७ स्थित बेलीब्रिजमा यही बैशाख १९ गतेदेखि ३० गतेसम्म स्थानीय कृषि उत्पादन तथा संस्कृति प्रवद्र्धन मेला हुने भएको छ । नागस्वती यूथ क्लबको आयोजना हुन लागेको कार्यक्रममा स्थानीय उत्पादन, खाना महोत्सव, बाल उत्थान, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने क्लवका अध्यक्ष अमर गुरुङले जानकारी दिए ।
‘हेटोंडा ७ स्थित बेलीब्रिजमा प्रथम नागस्वती स्थानीय कृषि उत्पादन तथा संस्कृति प्रवद्र्धन मेला आयोजना गर्न लागेका छौँ ।’ उनले भने –‘क्लवले आयोजना गर्न लागेको कार्यक्रममा स्थानीय कृषि तथा संस्कृति झल्किने, वडाको पहिचान, रमाइलो पनि गरौँ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हौँ ।’
‘हामीले स्थानीय कार्यक्रम गर्दा आकर्षण झल्किएन । यस वर्ष स्थानीय तथा राष्ट्रिय कलाकारलाई जोड दिएका छौँ ।’ उनले भने । मेलामा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु धुमुस÷सुन्तली, शान्ती श्री परियार, रचना रिमाल, प्रिती आले, ज्योति मगर, प्रताप दास, राजन राज शिवाकोटी, सतिश घलानलगायतको कलाकारले प्रस्तुती दिने छन् । मेलामा ८० वटा स्टल रहने आयोजकले जनाएको छ । पहिलो र दोस्रो दिन निःशुल्क प्रवेश रहने मेलामा अन्य दिनहरूमा भने शुल्क लिइने क्लबले जनाएको छ ।
मेला सञ्चालनको लागि करिव ५० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।






