हेटौंडा, हेटौंडा–१० स्थित राप्ती रोडमा रहेको दास इम्पोरियमका सञ्चालक विन्दल दासमाथि अज्ञात समूहद्वारा कुटपिट गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, तीनवटा मोटरसाइकलमा आएका करिब ८–९ जनाको युवा समूहले दासमाथि आक्रमण गरेका हुन्। आक्रमणका क्रममा दासको टाउकोमा चोट लागेको र अहिले उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी उपरीक्षक विश्वराज खड्काले घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइरहेको र उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो।
उक्त घटनाको मकवानपुर उद्योग वाणिज्य संघले घोर विरोध गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै व्यवसायीक क्षेत्रमा दिनदहाडै भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ र दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गरेको छ।







