हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध नेपाली कांग्रेस संसदीय दलले अविश्वासको प्रस्ताव दर्ता गरेको छ। बिहीबार साँझ काँग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। प्रस्तावमा काँग्रेसबाट प्रतिनिधित्व गरिरहेका चार मन्त्रीसहित २१ जना प्रदेश सांसदको हस्ताक्षर रहेको बताइएको छ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण प्रक्रियामा देखिएको आन्तरिक विवाद चर्किएपछि लामालाई मुख्यमन्त्रीबाट हटाउने निर्णयतर्फ काँग्रेस सांसदहरू उन्मुख भएका हुन्। काँग्रेस संसदीय दलको विधानअनुसार दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था रहेको हुँदा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बताइएको छ।
अविश्वास प्रस्ताव दर्ताअघि सरकारका चार मन्त्रीले एकैपटक राजीनामा दिएका छन्। राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन छन्। उनीहरूले मुख्यमन्त्री लामालाई राजीनामापत्र डिजिटल माध्यम ९ह्वाट्सएप० मार्फत पठाएको बताएका छन्।
यस घटनाले बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ मोड ल्याउने संकेत देखिएको छ।







