हेटौंडा, बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सहकारीले समुदायमा आधारित उत्पादनमा जोड दिनुपर्ने बताएकी छिन् । शनिबार सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै लामाले सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताएकी छिन् ।
‘मकवानपुरमा रहेको सहकारीको कार्यक्रममा जाने गर्छु । अरु सहकारीको तुलनामा यो सहकारी नमूना सहकारी लाग्यो ।’ मन्त्री लामाले भनिन् –‘सहकारीले उत्पादनमा जोड दिनुपर्छ । उत्पादन गर्दा धेरै कुराहरु सिकिन्छ ।’ बागमती प्रदेशले पनि समुदायमा आधारित उत्पादनलाई जोड दिँदै आएको र यो सहकारीले पनि उत्पादनमा जोड दिँदै आएकोले गर्दा कार्यक्रम मिल्दो जुल्दो भएको उनले दावी गरिन् ।
सहकारीको अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा असल बचतकर्ता रामजी साखी, असल ऋणीमा विजय राय, दैनिक बचतकर्ता गोपाल श्रेष्ठ, शेयर सदस्यमा अमृत लामिछाने, आवद्यिक बचतकर्ता राधिका पौडेल र बालबचतकर्ता सान्भावी श्रेष्ठलाई पुरस्कृत गरेको थियो ।
२ हजार ५ सय ९६ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पुँजी २ करोड २९ लाख ७१ हजार रुपैयाँ, ऋण लगानी ६ करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ । कार्यक्रममा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव ईश्वर पण्डित, समाजसेवी रघुरमण न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।







