हेटौँडा, हेटौँडा– ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा बिहीबार ‘एक्जिट’ कार्यक्रम सम्पन्न भएको छ । एकीकृत पाठ्यक्रम अन्तर्गत ‘म र मेरो परिवार’ शीर्षकमा आधारित कार्यक्रममा विद्यार्थीहरूले अध्ययनका क्रममा प्राप्त ज्ञान तथा सीपलाई विभिन्न रचनात्मक गतिविधिमार्फत प्रस्तुत गरेका थिए।
वर्षमा दुईचोटी आयोजना हुने एक्जिट कार्यक्रम शैक्षिक सत्र २०८२ को लागि यो पहिलो कार्यक्रम रहेको कक्षा १ की शिक्षिका इशा अधिकारीले जानकारी दिइन् । विद्यालयका शिक्षक, अभिभावक तथा अतिथिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा कक्षा १ का विद्यार्थीद्वारा स्टेज प्रस्तुति, ‘नाउन’ खेल, व्यवहार प्रदर्शन, मपेट तथा पपेट प्रस्तुती, फोनिक्ससम्बन्धी गतिविधि, नाटक, गणित खेल, ‘र्याम वाक’, गायन र नृत्य प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए।
म र मेरो परिवार” थिमअन्तर्गत कथा वाचन, कथा समिक्षा, गीत गाउने, चलचित्र हेर्ने र समिक्षा गर्ने, खेल खेल्ने, पुस्तक पढ्ने, अभिभावकको अन्तर्वार्ता लिने, सलाद बनाउने, परिवारको वृक्ष (फ्यामिली ट्री) बनाउने तथा दैनिक डायरी लेखनका गतिविधिहरू समावेश गरिएका थिए। कक्षा १ मा अध्यापन गराउने शिक्षिका अस्मिता लामाको अध्यक्षतामा भएको कार्यक्रममा ज्ञानोदय बालबाटिका आवासिय माध्यमिक विद्यालयका निर्देशक श्यामकुमार बानियाँ, प्रधानाध्यापक सन्तोष शर्मा, प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीलगायत अभिभावकहरूको आतिथ्य रहेको थियो ।
एक्जिट कार्यक्रमको बारेमा शिक्षिका ईश्वरी तिवारीले जानकारी गराउनु भएको थियो भने शिक्षिका रिकिता अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।







