हेटौंडा, मकवानपुर जिल्लामा रहेका संस्थागत विद्यालयलाई नेपालको शिक्षा प्रणालीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले शनिबार हेटौंडामा एकदिने शैक्षिक कार्यशाला सञ्चालन भएको छ । नेपाल इनोभेटिभ कन्र्सोटियम फर एजुकेशन (नाइस) र वेद सफ्टवेयरको संयुक्त आयोजनामा ‘रिइमाजिङ्ग एजुकेशन’ कार्यशाला सञ्चालन भएको हो ।

वेद सफ्टवेयरका सिइओ तथा संस्थापक निर्देश दवाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड हेटौंडा कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले विद्यालयहरु नयाँ दर्ता गर्नुभन्दा पनि दर्ता भएका विद्यालयहरु राम्रोसँग सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए । मकवानपुरलाई शैक्षिक हवको रुपमा विकास गर्न संस्थागत तथा सामूदायिक विद्यालयले अतिरिक्त क्रियाकलापलाई जोड दिँदै आइरहेको बताए ।
प्याव्सन मकवानपुरको सहकार्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटाले प्रविधिको परिवर्तन र सोचमा आएको परिवर्तनलाई चुनौतीको रुपमा सामना गर्नुपर्ने बताए । हेटौंडाको शैक्षिक उन्नयनको लागि संस्थागत तथा सामूदायिक विद्यालयको भूमिका महत्वपूर्ण रहेको उनले बताए । न्यू मिलिनियम विद्यालय काठमाडौंका प्रिन्सिपल प्रविज्ञा रेग्मीले विद्यालयको ‘भिजन’, उद्देश्य, ‘मिसन’ र ‘भ्यालु’को बारेमा र कारखाना नामक संस्थाबाट पवित्रा बहादुर गौतमले नेपालको शिक्षा प्रणालीलाई गुणस्तर कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा मकवानपुरमा रहेका संस्थागत विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधि गरी ७० जनाको सहभागिता रहेको थियो । नेपालभरी एक हजार भन्दा बढी विद्यालयले वेद सफ्टवेयर प्रयोग गर्दै आइरहेको कार्यक्रममा जनाएको छ । कार्यक्रममा प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।






