हेटौँडा, हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा प्रादेशिक कृषि थोक बजार सञ्चालनमा आएको छ। बागमती प्रदेश सरकार अन्तर्गतको कृषि विकास निर्देशनालय र उपमहानगरको संयुक्त लगानीमा निर्माण भएको यस थोक बजारको ७० प्रतिशत लागत प्रदेश सरकारले र बाँकी ३० प्रतिशत लागत उपमहानगरपालिकाले व्यहोरेका छन्।
कुल ३२ करोड १० लाख रुपैयाँको लागतमा सम्पन्न यो परियोजना प्रदेशकै नमुना कृषि बजारको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ र नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रूपमा बजारको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बजारको जिम्मेवारी औपचारिक रूपमा उपमहानगरलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, विभिन्न वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधिहरू, कृषि क्षेत्रका संघसंस्थाका पदाधिकारी, व्यापारी, कृषक तथा सर्वसाधारणको उपस्थिति थियो । उक्त बजार करीब दुई बिगाहा चार धुर क्षेत्रफलमा फैलिएको छ। पाँच तल्ले संरचना निर्माणको योजना रहे पनि हालसम्म बेसमेन्टसहित तीन तल्ले भवन निर्माण सम्पन्न भइसकेको छ। भवनको बेसमेन्टमा सवारी पार्किङको व्यवस्था गरिएको छ भने भुइँ तल्लामा २० वटा सटर, चार वटा कार्गो लिफ्ट र दुई वटा यात्रु लिफ्ट रहेका छन्। पहिलो तल्लामा थप २० वटा सटर निर्माण गरिएको छ।







