हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलबभत्ताबाट मकवानपुर–२ (ख) निर्वाचन क्षेत्रका अति विपन्न परिवारका लागि घर निर्माण गर्ने घोषणा गरेका छन्। मुख्यमन्त्री पदमा नियुक्त भएपछि मङ्गलबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्।
बैठकमा मुख्यमन्त्री बानियाँले आफू निर्वाचित भएको क्षेत्रभित्रका अति विपन्न परिवारहरू छानोट गरी आफ्नै तलबभत्ताबाट उनीहरूका लागि घर निर्माण गरिने जानकारी गराएका थिए। उनले राजनीतिक पद सेवा र जिम्मेवारीका लागि हुने भन्दै जनताको प्रत्यक्ष हितमा खर्चिने प्रण गरेका हुन्। त्यसैगरी, मुख्यमन्त्री बानियाँ नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशभरका आर्थिक रूपमा कमजोर, सिमान्तकृत तथा विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गर्ने निर्णय गरेको छ। बैठकले ६ जना विद्यार्थीलाई विभिन्न शाखामा डाक्टर र १० जनालाई नर्स अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङका अनुसार छात्रवृत्तिको लाभ मेडिकल डाक्टर (२ जना), आयुर्वेद डाक्टर (२ जना), भेटेरीनरी डाक्टर (२ जना) र नर्सिङ (१० जना) अध्ययन गर्न चाहने जेहेन्दार तथा विपन्न विद्यार्थीले पाउनेछन्। छात्रवृत्ति कार्यक्रम सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन हुनेछ।
त्यस्तै, मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशभित्र रहेका अति गरिब र सिमान्तकृत समुदाय, दलित चेपाङ, बोटे, जिरेल हायु वनकरियालगायतलाई जीवनयापनको सहयोगको लागि गाँसबास र कपासको प्रबन्ध गर्न उच्च प्राथमिकताका साथ नीति बनाई यथाशीघ्र कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ






