मकवानपुरगढीमा कोदो उत्पादनको क्षेत्रफल बढ्दै

हेटौंडा/हेपाहा बालीका रूपमा चिनिएको कोदो उत्पादनको क्षेत्रफल मकवानपुरगढी गाउँपालिकामा वृद्धि भएको देखिन्छ । मकवानपुरगढी गाउँपालिकामा कार्यक्रम सुरु भएको तीन वर्षमा कोदोजन्य बाली लगाउने क्षेत्रफलमा वृद्धि भएको छ । तीन वर्षअघि २ सय ५० हेक्टर जमिनमा मात्र कोदोबाली लगाइन्थ्यो । हाल ३ सय हेक्टर जमिनमा लगाउन थालिएको गाउँपालिकाले जनाएको छ ।

ADVERTISEMENT

संघीय कार्यक्रमसँगै गाउँपालिकाले पनि रैथाने बाली प्रवर्द्धनका लागि बजेट छुट्याउँदै आएको छ । कोदोको उत्पादन र उत्पादकत्व बढाउने र स्कुलको दिवा खाजा कार्यक्रममा समेत सातामा एक दिन रैथाने उत्पादनका खानेकुरा दिन तालिम सञ्चालन गरिरहेको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए । संघको बजेट किसानसँगै छलफल गरेर विभिन्न प्रविधि, उन्नत बीउबिजन लगायतमा खर्च गर्छौं,’ उनले भने, ‘कोदो बालीको क्षेत्र विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्न बजेट खर्च हुन्छ ।’ गाउँपालिकाले यस वर्षदेखि बाँझो जग्गा खनजोत गरेर खेती गर्ने किसानलाई प्रतिरोपनी ९ सय रुपैयाँ प्रोत्साहन अनुदानसमेत दिन थालेको जनाएको छ ।

‘यस वर्ष ३ हेक्टर बाँझो जग्गा खनजोत भइसक्यो,’ उनले भने, ‘उत्पादन प्रवर्द्धनसँगै मृल्य शृंखलामा आबद्ध गराई प्रशोधन गरेर बजारसम्म पठाउन गाउँपालिकाबाट सहयोग गरिरहेका छौं ।’ गाउँपालिकाले नै कोदोको न्यूनतम समर्थन मूल्य यस वर्षका लागि प्रतिकिलो ४५ रुपैयाँ तोकेको छ । गाउँपालिकाभर उत्पादित कोदो वडा–४ का कृषि सहकारीले खरिद गर्छन । कोदो भण्डारणका लागि समेत गाउँपालिकाकै सहयोगमा भवन निर्माण भएको उनले बताए । ‘गाउँपालिकाले कोदो खरिद गरेबापत सहकारीलाई प्रतिकिलो ४ रुपैयाँ अनुदान दिन्छ,’ उनले भने, ‘सहकारीले खरिद, भण्डारण र बिक्रीबापत २ रुपैयाँ आफैं राख्छ भने किसानलाई प्रतिकिलो दुई रुपैयाँ किसानलाई दिन्छ ।’ सबै कोदो एकै पटक बिक्री नहुने भएपछि गाउँपालिकाले प्रशोधन गरी लेबलिङ गरेर बिक्रीवितरण गर्ने तयारीमा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *