हेटौंडा, हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा नगरस्थित संघसंस्थासँग सुझाव मागेको छ ।
यसअघि जिल्लाका राजनीतिक दलहरुसँग नीति, कार्यक्रम र बजेटका विषयमा सुझाव लिएको उपमहानगरले बुधवार बजेटमा संघसंस्थाको धारणा बुझेको हो । नगरभित्र क्रियाशील संघसंस्थासँग उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पशु, पुर्वाधार, खेलकुद, पर्यटन, वातावरण, सरसफाई, फोहर व्यवस्थापन, सुचना प्रविधि, सुशासन तथा सेवा प्रवाह, उद्योग सहकारी, यातायात सञ्जाल, सामाजिक क्षेत्रसहितका बिषयमा छलफल गरिएको हो । उपमहानगर नेतृत्वले नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने महत्वपूर्ण विषय, प्राथमिकताका कार्यक्रम र आवश्यकतालाई मध्यनजर गर्दै सुझाव मागेको नगर प्रमुख मिनाकुमारी लामाले बताइन् ।
छलफलमा हेटौंडा उपमहानगरकी प्रमुख लामाले नगर बनाउने कुरामा हातेमालो गर्न आग्रह गरेकी छन् । उनले हेटौंडा बनाउने सवालमा सबै संघसंस्थाले उपमहानगरसँगै एकजुट हुनुपर्नेमा जोड दिइन् । सबै क्षेत्रको अपनत्व रहोस् भन्नका लागि छलफल गरेकाले उचित सुझावलाई सम्बोधन गर्न पछि नपर्ने विश्वास पनि लामाले दिलाएकी छन् । नेतृत्वबाट योजना लाद्ने भन्दा पनि जनअपेक्षित काम गर्न जरुरी रहेको मेयर लामाको भनाई छ । उपमहानगरले राखेको योजना सबैको साझा हुन जरुरी रहेको लामाले बताइन् । हेटौंडा बनाउने कुरामा सबैको सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाई छ ।
प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण देवकोटाले सहकारी मार्फत उत्पादन, भण्डारण र बजारीकरणमा ध्यान दिन जरुरी रहेको बताए । सहकारी मर्ज गर्ने नीति उपमहानगरले ल्याउनुपर्ने सुझाव दिएका छन् । नारायणी यातायात व्यवसायी संघका पूर्वअध्यक्ष बद्रिप्रसाद चौलागाईले जिल्लामा ४ हजार ६ सय यातायात व्यवसायी रहेको भन्दै व्यवसायीहरुको हितका लागि पनि बजेट ल्याउनुपर्नेमा जोड दिए । नगरभित्र ट्रक पार्कको व्यवस्थापन गर्नुपर्ने, सिटी बस सञ्चालन आवश्यक रहेको, विद्युतिय सवारी सञ्चालनमा जोड दिनुपर्ने र राजमार्ग व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको उनले बताए ।
मकवानपुर घरजग्गा व्यवसायी संघका उपाध्यक्ष पवन तिमल्सिनाले उपमहानगरले आन्तरिक आयवृद्धिमा ध्यान दिन जरुरी रहेको बताए । उनले नापी र मालपोतलाई उपमहानगरपालिकाअन्तर्गत् ल्याउन जरुरी रहेको बताएका छन् । जग्गा वर्गाीकरण मुल्यांकन गर्न आवश्यक रहेको तिमल्सिनाले बताए । सबैलाई करको दायरामा ल्याउनुपर्ने, उठेको भाडा घरबेटीले मात्र लिइरहेको अवस्था बारे जानकारी गराउँदै घरबहाल करमा उपमहानगरको ध्यान पुग्नुपर्ने, एम्वुलेन्स खरिद गरेर बिरामीलाई अस्पतालसम्म निःशुल्क सुविधा दिन जरुरी रहेको तिमल्सिनाले बताए । साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले जिल्लामा क्रियाशील संस्था बजेट अभावले भाषा साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्न नसकेको जनाएकी छन् ।
टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारीले टोल विकास संस्था परिचालनमा कार्यक्रम र नीति आवश्यक रहेको औंल्याएका छन् । सामाजिक अभियानमा परिचालन गर्न कार्यक्रम आवश्यक रहेको उनले बताए । बजेटको व्यवस्थापन आवश्यक रहेको उनको भनाई छ । होटल एसोसिएसन मकवानपुरका गोपाल सापकोटाले खेर गएको जमिन संरक्षण गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । उनले पर्यटकीय ताल निर्माण गर्न, राप्ती तटमा रात्रिकालिन पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न, व्यवसायीक कर सम्बन्धित ठाउँमा ठाउँमा पुगेर उठाउन सुझाव दिएका छन् ।
छलफलमा सहभागीहरुले उपमहानगरमा सामाजिक रुपान्तरणका लागि मौलिक शिक्षा कार्यान्वयन गर्नुपर्ने, हरेक कुरा आयातित् भएको भन्दै बाल उद्यान आवश्यक रहेको, जीवन उपयोगि शिक्षा आवश्यक रहेको, शिक्षाका कारण व्यवारिक, जिम्मेवारी बन्न सक्नुपर्ने, शैक्षिक हव बनेको भन्दै त्यसका लागि पूर्वाधार अभाव रहेको बताएका छन् । खानेपानी व्यवस्थापनमा ध्यान दिँदै नगरका सबैलाई सम्बोधन हुनुपर्ने, नगरको सुविधा सबैलाई दिनुपर्ने, ८ हजार धारा खानेपानी व्यवस्थापन बोर्ड बाहिर रहेकोले समेट्नुपर्ने सुझाव उठेको छ । नगरमा धार्मिक पर्यटकको क्षेत्रमा योजना बनाउन आवश्य रहेको औंल्याइएको थियो । सुविधा सम्पन्न शौचालयहरु नगर क्षेत्रमा आवश्य रहेको जनाइएको छ ।






