हेटौँडा, हेटौँडा जेसीजले विभिन्न कार्यक्रम आयोजनासहित ‘जेसीज सप्ताह २०२५’ समापन गरेको छ। कार्तिक १८ गतेदेखि २१ गतेसम्म सातवटै कार्यक्रम सम्पन्न गर्दै जेसीजले सप्ताह मनाएको हो। हेटौँडा जेसीज वर्ष २०२५ का अध्यक्ष पंकज दास बानियाँको अध्यक्षतामा शनिबार जेसीज सचिवालयमा आयोजित समापन तथा पुरस्कार वितरण समारोहमा नेपाल जेसीज वर्ष १९९८ का राष्ट्रिय अध्यक्ष तथा जेसीआई सिनेटर प्रा. डा. दीपक शाक्य प्रमुख अतिथि रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाक्यले जेसीजले समाजमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे। युवाहरू जेसीजमार्फत् एकताबद्ध भएर नेतृत्व तथा व्यक्तित्व विकास गर्दै सामाजिक सेवामा समर्पित भइरहेको उल्लेख गर्दै उनले अझ सक्रिय रूपमा समाजसेवामा जुट्न अनुरोध गरे। सप्ताहव्यापी कार्यक्रमका संयोजक सन्तोष पराजुलीले कार्यक्रम संयोजकलाई मायाको चिनोसँगै अवार्ड पनि प्रदान गरेका थिए ।
जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन हुप्राचौरमा रक्तदान तथा ‘स्लो बाइक’ प्रतियोगिता, दोस्रो दिन अन्तर–जेसीज वक्तृत्वकला प्रतियोगिता र भूटनदेवी माध्यमिक विद्यालयमा साइबर सचेतना कार्यक्रम, तेस्रो दिन विद्यालयस्तरीय हाजिरी–जवाफ प्रतियोगिता, र चौथो दिन मकवानपुरगढी–६ गुरदाङस्थित एक अतिविपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको बताए। कार्यक्रमको सहजीकरण महासचिव संजय कुमार न्यौपानेले गरेका थिए। समापन समारोहमा हेटौँडा जेसीजका पूर्व अध्यक्षहरू, छिमेकी शाखाका अध्यक्षहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। विभिन्न क्षेत्रबाट जेसीजलाई सहयोग पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।







