हेटौंडा/नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले गठबन्धनकै कारण स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेकोले गठबन्धनप्रति इमान्दार बन्नुपर्ने धारणा राखेकी छिन् ।
कांग्रेस हेटौंडा ५ नम्बर वडा समितिले मंगलबार हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ पछि केन्द्र र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गरेकी हुन् । ‘केपी ओलीको अहमता र सर्वसत्तावादी सोचले मुलुक अस्थिरतातर्फ जान लागेको थियो । ५ दल मिलेर मुुलुक, संविधान र संसद् जोगाउने काम भएको हो’, उनले भनिन्, ‘पार्टी सभापति शेरबहादुर देउवाले ५ दललाई संगै लिएर हिँड्नुभएको छ । लोकतन्त्र बचाउने र संविधान जोगाउने शक्तिहरु एक ठाउँमा रहेका छौं त्यसकारण गठबन्धनले जित्न जरुरी छ ।’
संविधान अनुरुप अहिले निर्वाचन हुन लागेको भन्दै उनले संविधान नै मास्न खोज्नेहरुले जितेमा मुलुक बर्बादीतर्फ जाने बताइन् । अन्य प्रतिस्पर्धी भन्दा हामी धेरै अघि छौं भनेर चुप लागेर बस्ने अवस्था नरहेको जानकारी दिँदै उनले अबको एक महिना पार्टीका सबै नेता कार्यकर्ता जनताको घरघर पुगेर मतदाता भेट्नुपर्ने र आफ्नो एजेण्डा सुनाउनुपर्ने अनुरोध गरिन् ।
यस्तै गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार आनन्दराम पराजुलीले आफूले जितेमा मकवानपुरबासीको शिर ननिहुरिने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘अब आन्तरिक निर्वाचन र अन्य केही कुरा भए त्यसलाई बिर्सेर रुख र गठबन्धनलाई जिताउन लाग्नुपर्ने समय आएको छ । गठबन्धनले हारेमा ५ बर्ष फेरि निराश भएर बस्नुको विकल्प छैन’, पराजुलीले भने, ‘गठबन्धनको एक मत नपुग्दा प्रदेश सरकार र केन्द्रीय सरकार गुम्ने अवस्था आउनसक्छ तसर्थ गठबन्धनलाई जिताउन लागौं ।’
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ तथा कांग्रेसका नेताहरुले गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।






