हेटौंडा, बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सबैको साझा प्रयासले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानमा सफलता प्राप्त भएको बताएका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरुको बार्षिक समिक्षा बैठक तथा मन्त्रालयको प्रदेशस्तरीय समस्या समाधान समितिको बैठकमा मन्त्री लामाले संघीय एवम् प्रदेश सरकारको समन्वय तथा स्वास्थ्यकर्मीको अथक प्रयास र नागरिकको सहयोगका कारण कोभिड–१९ विरुद्धको अभियानमा सफलता प्राप्त भएको दावी गरेका हुन् ।

मन्त्री लामाले प्रधानमन्त्री शेरबहादुर देउवाको सत्प्रतिशत खोप अभियानलाई सार्थक बनाउन र नागरिकलाई कोभिड–१९ को जोखिमबाट बचाउन बागमती प्रदेश सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानमा सत्प्रतिशत सफलता हाँसिल गरेको भन्दै आभार व्यक्त गरे । कोभिड महामारी, नीतिगत समस्या र प्रशासनिक समस्याका कारण लक्ष्य अनुसारको प्रगतिमा समस्या रहेको उल्लेख गर्दै उनले चालु आर्थिक बर्षमा मन्त्रालय अन्तर्गतका सबै निकायलाई लक्ष्य अनुसारको प्रगति गर्ने गरी काम गर्न निर्देशन दिए ।
‘जनतालाई स्वास्थ्य सेवा पु¥याउने स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह ‘स्मार्ट’ हुनुपर्छ’, मन्त्री लामाले भने, ‘यसतर्फ लाग्न सबै निकाय आजैबाट कार्ययोजन अनुसार अघि बढ्नुपर्ने जरुरी छ ।’ कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछानेले प्रदेशका सबै मन्त्रालयको समस्या एकै किसिमको रहेकाले यसलाई समाधान गर्न सबैको सामुदायिक प्रयास आवश्यक रहनुपर्नेमा जोड दिए । लामिछानेले कार्यालयको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, सुशासन र पारदर्शिता लगायतका विषयमा विशेष ध्यान दिएर अघि बढ्न सुझाव दिए । प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकार अन्तरगतका निकायहरुको काम कारवाही बारे अनुगमन गरेको र आवश्यक सुझाव समेत दिएकाले सोही अनुसार सुधारको अपेक्षा गरिएको उनको भनाई छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यालयको समीक्षा
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका प्रदेशस्तरीय कार्यालयहरूको आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक समीक्षा बैठकको आयोजना भएको छ । स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्यता एवम् मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ, मन्त्रालयका महाशाखा प्रमुख दिपक तिवारी, नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुवन पौडेल, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्की, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा.अर्जुन सापकोटा, स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्ले लगायतले आ–आफ्नो कार्यालयको प्रस्तुतीकरण गरेका थिए । सोमबार नै प्रदेशस्तरीय समस्या समाधान समितिको बैठक समेत बसेको थियो ।







