हेटौँडा, हेटौँडा–५, भैरवरोडस्थित ज्ञानदीप शिक्षा (जी.एस) निकेतन माविको बालसाहित्य समितिअन्तर्गत रहेको ‘सुनौलो बिहानी समूह’ पुनर्गठन गरिएको छ। समूहमा साहित्यप्रति रुचि राख्ने कक्षा ६ देखि ९ का विद्यार्थीहरूलाई समावेश गरी ५१ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो।
समितिको अध्यक्षमा कक्षा ९ की विद्यार्थी राशिका खनाल सर्वसम्मतरूपमा चयन भएकी छन्। उपाध्यक्षमा कक्षा ९ की स्मृति सापकोटा र कक्षा ८ का प्रबिद दङ्गाल चयन भएका छन्। त्यस्तै, कक्षा ८ की परिधि सापकोटा सचिव, कक्षा ८ का आयुशिष घिमिरे सहसचिव, कक्षा ७ की रुबस पराजुली कोषाध्यक्ष र कक्षा ६ का भियान चौलागाईं सह–कोषाध्यक्ष निर्वाचित भएका छन्।
विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी दीपक गौतमले बालसाहित्य तथा सिर्जनात्मक क्रियाकलापमा विद्यार्थीहरूको सक्रियता बढाउन समूह पुनर्गठन गरिएको बताए ।
उनले समूहले विगतदेखि नै सिर्जनात्मक लेखन, विद्यालय पत्रिका प्रकाशन, पुरस्कार तथा सम्मानसम्बन्धी गतिविधि गर्दै आएको बताए। नवनिर्वाचित अध्यक्ष खनालका अनुसार समूहले अब पठन संस्कृतिको प्रवर्धनलाई मुख्य प्राथमिकता दिएर पुस्तक सम्बन्धी कार्यक्रम, साहित्यिक प्रतियोगिता र सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने योजना बनाएको छ। ‘सुनौलो बिहानी समूह’ बालसाहित्य प्रवर्धनमा सक्रिय नवसर्जक साहित्य चौतारी नेपालअन्तर्गतको इकाइ समिति पनि रहनेछ।







