हेटौँडा, थाहा नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा थाहा नगरपालिका भित्रका १८ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनप्रतिनिधिहरूका लागि वृत्ति मार्गनिर्देशन कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको इन्स्योर प्रदेश परियोजना सहयोग इकाईले प्राविधिक सहयोग र विङ युथले आर्थिक सहयोग प्रदान गरेको थियो। कार्यक्रमको मुख्य उद्देश्य माध्यमिक विद्यालयका शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नु तथा कक्षा ९ मा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकलाई विद्यार्थीको रुचि र क्षमताको आधारमा वृत्ति मार्गनिर्देशन गर्न सहजीकरण गर्नु रहेको थियो। यसले विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि गर्नुका साथै भविष्यका करियर विकल्पबारे जानकारी पुर्याउने अपेक्षा गरिएको छ।
नगर शिक्षा शाखाका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूलाई सही मार्गदर्शन प्रदान गर्दै उनीहरूको रुचि र क्षमताअनुसार भविष्यको वृत्ति छनोट गर्न सहयोग पुर्याउनेछ।
कार्यक्रममा बोल्दै थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बिष्टले भन्नुभयो, “थाहा नगरपालिकामा शैक्षिक सुधार र विद्यार्थीहरूको समग्र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं। यस वृत्ति मार्गनिर्देशन कार्यक्रममार्फत अभिभावक र विद्यार्थीलाई सही दिशामा अगाडि बढ्न आवश्यक सहयोग पुग्नेछ।”
त्यस्तै, उपमेयर भरत गोपालीले भन्नुभयो, “यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउनेछन्।”
कार्यक्रमको अन्त्यमा थाहा नगरपालिकाका तर्फबाट नगर प्रमुख विष्णु बिष्ट, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, इन्स्योरका प्रबन्धक निर्मला मैनाली र विङ युथका कार्यक्रम प्रबन्धक मनिषा बस्नेतले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभयो। उक्त सम्झौता थाहा नगरपालिका, इन्स्योर प्रदेश परियोजना सहयोग इकाई र विङ युथबीच भएको हो।
यस कार्यक्रमबाट थाहा नगरपालिका भित्रका १८ वटा निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का करिब ६ सय विद्यार्थी र तिनका अभिभावक लाभान्वित हुने नगर शिक्षा शाखाले जनाएको छ।






