बागमती प्रदेशसभाको आठौं वार्षिकोत्सव, निर्णय कार्यान्वयनमा कर्मचारीको हिचकिचाहटप्रति मुख्यमन्त्रीको गुनासो

हेटौँडा, संघीय संरचनाको महत्वपूर्ण अभ्यासका रूपमा स्थापित बागमती प्रदेशसभाले आइतबार आठौं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव समारोहमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले गरेका निर्णयहरू निजामती कर्मचारीबाट कार्यान्वयनमा हिचकिचाहट देखिँदा गम्भीर समस्या उत्पन्न भएको बताएका छन्।

प्रदेशसभाको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रदेशसभाका सदस्यहरूको स्वकीय सचिवलाई मासिक तलब उपलब्ध गराउने प्रदेश सरकारको निर्णय कर्मचारीकै कारण कार्यान्वयनमा आउन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे। संघीय सरकारको पत्र देखाउँदै प्रदेश सरकारका निर्णयलाई कर्मचारीहरूले बेवास्ता गर्ने गरेको उनको आरोप थियो।

“कुनै पनि सरकार सफल वा असफल हुने भन्ने कुरा कर्मचारीहरूको भूमिकामा निर्भर रहन्छ,” मुख्यमन्त्री बानियाँले भने।

उनले नेताहरूको बोली र व्यवहारमा देखिएको अन्तरका कारण लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको उल्लेख गर्दै निर्वाचनको कुनै विकल्प नभएकाले राजनीतिक दलसहित सबै क्षेत्र अब निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए। “अब निर्वाचन हुन्छ कि हुँदैन भनेर शंका गर्ने बेला छैन,” उनले स्पष्ट पारे।

वार्षिकोत्सव समारोहको उद्घाटन बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले गरेका थिए। सो अवसरमा विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री सालिकराम जम्कट्टेलले प्रदेशसभाको बैठक तत्काल बोलाउन र सभामुखको निर्वाचन गर्न माग गरे।

उपसभामुख अप्सरा चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, साविक एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मालगायतले प्रदेशसभा, संघीयता र समसामयिक राजनीतिक अवस्थाबारे धारणा राखेका थिए। कार्यक्रममा ‘प्रदेशसभा दर्पण’ नामक पुस्तकसमेत विमोचन गरिएको थियो।

२०७४ माघ १८ गते पहिलो अधिवेशन सुरु गरेको बागमती प्रदेशसभाले आठ वर्ष पूरा गरिसकेको छ। प्रदेश सरकार सञ्चालनका लागि आवश्यक मानिएका ९९ कानुनमध्ये हालसम्म ९० वटा विधेयक प्रदेशसभाबाट पारित भइसकेका छन्। तीमध्ये ८९ वटा कानुन प्रदेश राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएका छन्।

प्रदेश चिठ्ठासम्बन्धी एक विधेयक भने संसद्‍बाट पारित भए पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण नपाउँदा कार्यान्वयनमा आउन सकेको छैन। उक्त विधेयक हाल पुनः प्रदेशसभामै विचाराधीन अवस्थामा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। यसका अतिरिक्त तीन वटा विधेयक सभा, समिति र सचिवालय तहमा छलफलको चरणमा छन्।

यसैबीच, प्रदेशसभाले आठौं वार्षिकोत्सव मनाइरहँदा नीतिगत चुनौतीसँगै ठूलो भौतिक क्षति पनि व्यहोर्नुपरेको छ। २०८२ भदौ २३ र २४ गते भएको जेन (जी) आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा प्रदेशसभा संरचनामा ३२ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

आफ्नै भवन प्रयोग गर्न नसक्ने अवस्थामा पुगेपछि हाल हेटौंडा उपमहानगरपालिकाको परिसरमा रहेको हलमा अस्थायी रूपमा प्रदेशसभाका बैठक सञ्चालन गर्ने तयारी गरिएको छ। हलको सामान्य मर्मत गरी टेबल, कुर्सी, माइक तथा आवश्यक इलेक्ट्रोनिक्स सामग्री जडान गरेर सभा सञ्चालनको तयारी भइरहेको उपसभामुख चापागाईंले जानकारी दिइन्।

सुरुआतमा ११० सदस्यीय रहेको बागमती प्रदेशसभामा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन ६ जना सांसदले राजीनामा दिएपछि हाल प्रदेशसभामा १०४ जना सदस्य रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *