हेटौंडा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा बेथिति र भ्रष्टचार बढेको भन्दै त्यसको विरुद्ध मेचीकाली अभियान सञ्चालन गर्ने बताएका छन् । शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले मुलुकको सबै पालिकामा खबरदारी सभा गरेर भ्रष्टचार विरुद्ध आवाज उठाउने बताए ।
अध्यक्ष प्रचण्डले अहिलेको सरकार देशलाई अँध्यारोतर्फ धकेल्लन उद्यत रहेको आरोप लगाए । देश चरम लोडसेडिङमा पुगेका बेला आफूले लोडसेडिङ मुक्त गर्नका लागि ऊर्जा मन्त्रीमा जनार्दन शर्मा र विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गरेर अहिलेको अवस्थामा ल्याएको अध्यक्ष प्रचण्डले उल्लेख छन्।
उनले भने–‘देशमा लोडसेडिङ नभएको यो सरकारलाई मन परेको छैन । उनीहरू दलाल पुँजीपतिलाई विद्युत् महसुल तिर्न नपर्ने बनाउनका लागि र गरिब जनतालाई मात्र तिर्न बाध्य पार्न कुलमानलाई निकाल्न खोजेको निकै ठूूलो चालबाजी तपाईँहरूले थाहा पाइसक्नुभएको छ । धेरै कुरा भनिराख्न आवश्यक नै छैन । एउटा प्रधानमन्त्रीले देशलाई अँध्यारोबाट उज्यालोतिर लग्यो, अर्को प्रधानमन्त्रीलाई त्यो सह्य भएन, त्यस कारण उज्यालोबाट अँध्यारोतर्फ लान उद्यत छ ।’
अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला सरकारी जग्गा जालझेल गर्ने, आफ्नो नाममा लैजाने भूमाफियालाई गिरफ्तार गरेर कारबाहीका लागि हिरासत पुर्याएको तर अर्कोतिर तिनै व्यक्तिबाट अहिलेको प्रधानमन्त्रीले दान लिएर खुला रूपमा भ्रष्टाचारलाई संस्थागत गर्न खोजेको उल्लेख गरे ।
उनले आफू पहिलो पटक प्रधानमन्त्री भएका देशलाई रणनीतिक ढङ्गले एकताबद्ध गर्नुपर्छ भनेर मध्यपहाडी पुष्पलाल लोकमार्ग आफूले प्रस्ताव गरेको र त्यो अहिले पूर्ण हुने अवस्थामा रहेको बताए । त्यसले पहाडमा पूर्वदेखि पश्चिमलाई जोड्न लागेको उल्लेख गर्दै उत्तर दक्षिण जोड्ने मार्गहरू निर्माणको काममा पनि सफल भएको उल्लेख गरे । मुलुकको स्थिरता र विकासको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने उनको भनाइ रहेको थियो ।
कार्यक्रममा बोल्दै थाहा नगरपालिका प्रथम नगरप्रमुख लवशेर विष्टले आफू नगरको प्रमुख हुँदा गरेका महत्वपूर्ण कामहरुबारे जानकारी गराउँदै अध्यक्ष प्रचण्डसमक्ष थाहा–२ फेदीगाउँ बस्ती बचाउ र गणेशमान सिंह मार्गको काम सम्पन्न गर्ने गरी पहल गर्न आग्रह गरेका थिए ।






