हेटौँडा, मकवानपुर जिल्लामा बढ्दो लागुऔषध दुर्व्यसनलाई चुनौतीका रूपमा लिँदै त्यसको समाधानका लागि तीन महिनासम्म सञ्चालन हुने लागुऔषध विरुद्धको अभियान माघ ८ गतेदेखि सुरु गरिएको छ। जिल्लाभर लागुऔषध दुर्व्यसनको रोकथाम, उपचार, पुनर्स्थापना तथा सामाजिक पुनःएकीकरणलाई एकीकृत रूपमा अघि बढाउने उद्देश्यसहित अभियान सञ्चालन गरिएको हो।
अभियान अन्तर्गतको पहिलो पालिका स्तरीय कार्यक्रम सोमबार थाहा नगरपालिकामा सम्पन्न भएको छ। सो अवसरमा पालिका समन्वय बैठक आयोजना गरी जिल्लामा रहेका लागुऔषध प्रयोगकर्ताको अवस्था, विद्यमान समस्या तथा सम्भावित समाधानका उपायहरूबारे छलफल गरिएको थियो। साथै, २०७६ सालमा गृह मन्त्रालयद्वारा स्थानीय तहलाई प्रदान गरिएको लागुऔषध सम्बन्धी कार्यान्वयन निर्देशनप्रति पनि ध्यानाकर्षण गराइएको थियो।
थाहा नगरपालिकामा अभियान अन्तर्गत तीनवटा कार्यक्रम सञ्चालन गरिएका छन्। श्री जनकल्याण माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रममार्फत लागुऔषधको दुष्प्रभावबारे जानकारी दिइएको थियो। त्यस्तै, नगरपालिकाको प्रवेशद्वारमा होर्डिङ बोर्ड राखिएको थियो भने शिखरकोट बजार क्षेत्रका तीन स्थानमा प्रचार–प्रसारका पम्प्लेट वितरण गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन गरिएको यस अभियानलाई जिल्लाको इतिहासमै रोकथाम, उपचार, पुनर्स्थापना र सामाजिक पुनःएकीकरणलाई एउटै साझा ढाँचामा जोडिएको उदाहरणीय पहलका रूपमा लिइएको छ।
थाहा नगरपालिकाका मेयर विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न समन्वय बैठकमा नेपाल प्रहरी तथा सिआन परिवारको सक्रिय सहभागिता रहेको थियो। अभियान अन्तर्गत आगामी तीन महिनाभर जिल्लाका विद्यालय तथा क्याम्पसहरूमा सचेतना कार्यक्रम, युवा संवाद, समुदाय आधारित अन्तरक्रिया, पम्प्लेट वितरण, सडक नाटक, अभिभावक परामर्श सत्र, घरदैलो अभियान, हेल्प डेस्क सञ्चालन तथा उपचार र पुनर्स्थापनासम्बन्धी सेवा प्रदान गरिने जनाइएको छ।
सिआन पुनर्स्थापना केन्द्रले पुरुष र महिलाका लागि छुट्टाछुट्टै पुनर्स्थापना सेवा सञ्चालन गर्दै आएको अनुभवलाई प्रयोग गरी अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। अभियानका आयोजकहरूले “लागुऔषध विरुद्धको लडाइँ सामूहिक जिम्मेवारी हो” भन्ने सन्देशसहित स्थानीय सरकार, नागरिक, शिक्षा संस्था, सञ्चारकर्मी तथा नागरिक समाजलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।
अभियानले केवल चेतनामै सीमित नरही व्यवहार परिवर्तन, सामाजिक कलङ्क न्यूनीकरण तथा दीर्घकालीन समाधानतर्फ समाजलाई अघि बढाउने अपेक्षा राखिएको आयोजकहरूले बताएका छन्।






