हेटौंडा, प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बागमती छनोट प्रतियोगितामा मकवानपुरले बिजयी सुरुवात गरेको छ । आज भएको चितवन विरुद्धको पहिलो खेलमा मकवानपुर ७१ रनले विजयी भएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको मकवानपुरले ४८ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय ४३ रन बनाउन सफल भयो । मकवानपुरका कप्तान सुमन सुनारले ४९ रन, गौरभ खड्काले १९ रन, तक्षक सिम्खडाले १४ रन, युविन बुढाथोकीले १३ रन र रिजन ढकालले १३ रन जोड्न सफल भए । चितवनका दिपेश श्रेष्ठले २७ रन खर्चेर ४ विकेट हात पार्न सफल भए । यसैगरी चितवनका बिशाल खत्रीले २ विकेट, गौतम केसी र प्रशनी महतले समान १ विकेट हात पार्न सफल भए ।
१४४ रनको लक्ष्य पाएको चितवन ३१ दशमलव ४ ओभरमा अलआउट हुँदै ७२ रनमा सिमित बन्यो । चितवनका प्रतिक श्रेष्ठले १४ रन, बिकल कुमार गुप्ताले ११ रन बाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । चितवनलाई सस्तैमा समेट्नका लागि मकवानपुरका साकार गजुरेलले ३ विकेट, रिजन ढकाल र असिम श्रेष्ठले समान २ विकेट, रामनरेश गिरी र बिशाल फुयाँलले समान १ विकेट लिन सफल भए । प्रतियोगितामा ५ ओभर बलिङ गर्दै ३ मेडन प्राप्त गरी २ विकेट लिन सफल भएका मकवानपुरका रिजन ढकाल खेलको म्यान अफ द म्याच घोषित भए ।







