हेटौँडा, हेटौँडाको चौकीटोलमा फागुन ३ गतेदेखि सर्टिफाइड सुजुकी सर्भिस सेन्टर विधिवत् रुपमा सञ्चालनमा आउने भएको छ । हिमालयन मोटर्सले सुजुकी सवारीधनीलाई गुणस्तरीय, छिटो–छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुजुकी सर्भिस सेन्टर विधिवत् रूपमा सञ्चालनमा ल्याउन लागिएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
हिमालयन मोटर्सका सञ्चालक सन्तोष सापकोटाका अनुसार हेटौँडा तथा आसपास क्षेत्रका सुजुकी सवारीधनीलाई उत्कृष्ट सेवा दिने उद्देश्यले सर्टिफाइड सुजुकी सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो। ‘ग्राहक सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो,’ उनले बताए। सञ्चालनको अवसरमा ग्राहकहरूलाई सर्भिसमा २५ प्रतिशत र लुब्रिकेन्ट्समा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
नेपालभरि विश्वसनीय सेवा र सहजरूपमा उपलब्ध स्पेयर पार्ट्सको अभावका कारण ग्राहकहरूमा देखिएको असन्तुष्टि अन्त्य गर्ने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको हिमालयन मोटर्सले जनाएको छ। सेवा केन्द्रमा आधुनिक सेवा पूर्वाधार, अत्याधुनिक उपकरण तथा अनुभवी प्राविधिक टोलीमार्फत गुणस्तरीय, छिटो–छरितो र भरपर्दो सेवा प्रदान गरिनेछ।
अब साना–ठूला मर्मत, नियमित सर्भिस, जेन्युइन स्पेयर पार्ट्स तथा प्राविधिक परामर्शका लागि टाढा जानुपर्ने झन्झट हट्ने विश्वास कम्पनीले लिएको छ। हेटौँडा तथा आसपासका सम्पूर्ण सुजुकी सवारीधनीलाई सेवा केन्द्रको उद्घाटन समारोहमा उपस्थित भई सेवा अवलोकन गर्न तथा भविष्यमा सेवा लिन कम्पनीले अनुरोध गरेको छ।






