गाउँमा अस्पताल बन्नु लोकतन्त्रको उपलब्धी हो : मुख्यमन्त्री बानियाँ

कैलाश, गाउँमै अस्पताल बनेर सेवा प्रवाह गर्नुनै लोकतन्त्रको उपलब्धी रहेको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बताए । बुधबार ९ औँ गाउँपालिकाको स्थापना दिवस कार्यक्रम तथा १० शैयाको वी.पी. स्मृती कैलाश आधारभूत अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले गाउँमा आज १० शैयाको अस्पताल निर्माण भएको छ । गाउँपालिकाको भवन समेत बनेको छ, सिंहदरबारको अधिकार गाउँगाउँमा आएको अवस्थामा गाउँकै अस्पतालमा रगत, दिशा पिसाब जाँच गर्ने, आँखा, हाडजोर्नी, जनरल उपचार गर्न कैलाशबासीहरुमा सहज बनेको बताए ।

लोकतन्त्र भ्रमको व्यवस्था नभएको भन्दै लोकतन्त्र सत्य र यथार्थको व्यवस्था हो, जनतालाई सत्य र यर्थाथको बीचमा जनप्रतिनिधिहरुले आफ्नो कुरा गर्दै जनताको कुरा सुन्दै काम गरिनुपर्ने बताए । भौगोलिक विकटताले दुर्गम रहेको कैलाश गाउँपालिका विस्तारै सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्यमा सुधार, सेवा सुविधाले विस्तारै अघि बढिरहेको अवस्था रहेको उनले बताए ।

उनले कैलाशलाई प्रकृतिले भरिपूर्ण रहेको र भगवान् महादेवले कैलाशमा आराधाना र ध्यान गर्ने स्थलको रुपमा परिचित रहेका पर्यटनको हिसाबले विकास हुँदै गरिरहेको समेत बताए । गाउँपालिकाले सीपमूलक र उद्यमीको आयआर्जनसँग जोडेर लैजानुका साथै शिक्षामा प्रविधिसँग जोडेर अध्यायन गराउनुपर्ने बताए ।

Advertisement 3

यस अस्पताललाई आज जुन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालबाट डाक्टरहरुको टोलीले शिविर सञ्चालन गर्नुभएको छ आगामी दिनहरुमा कम्तिमा महिनामा शिविर सञ्चालन गरि सेवा प्रवाह गर्न आग्रह छ, मुख्यमन्त्री बानियाँले भने । अस्पताललाई चाहिने आवश्यक पर्ने सामाग्री प्रदेश सरकारले पनि सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले गाउँमै सञ्चालित अस्पतालबाटै सेवा लिन आग्रह गरे । गाउँघरमा उपचारबाट बञ्चित नहोस् भन्ने हेतुले गाउँघर स्थानीय तहमा गाउँघर क्लिनिक सञ्चालन भएको छ तर पनि ठुला वा जटिल रोगको उपचार अस्पतालबाटै गरिनुपर्ने बताए ।

नेपालको संघीय शासन प्रणाली कार्यान्वयनसँगै स्थापित स्थानीय सरकारको महत्वपूर्ण आधारस्तम्भको रुपमा गाउँपालिका रहेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । हामीले पहिलो पटक नवौं स्थापना दिवस मनाएका हौं । यसअघि कुनै पनि स्थानीय सरकारले स्थापना दिवस नमनाएको अवस्थामा पहिलो पटक हामीले मनाएको अध्यक्ष मुक्तानले बताए । स्थानीय सरकार भए पश्चात भएका विकास र उपलब्धीहरुको समीक्षा गर्नु, हामीप्रति जनताको विश्वास अझ बलियो बनाउनु, गाउँपालिकाको विगत, वर्तमान र भविष्यको यात्राको समीक्षा गर्नुनै यस दिवस कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष मुक्तानले बताए ।

त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले अस्पतालन सञ्चालनको लागि कार्यालयको तर्फबाट आवश्यक समन्वय र सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता जनाए । चाडैं डाक्टरको नियुक्ती गरि सेवा प्रवाह गरिनुपर्ने बताउँदै विकट कैलाशमा पनि अस्पतालबाट धेरै विरामीको उपचार भइरहेको सुन्न पाइयोस् उनले भने ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकरी, वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्णसारु मगर, नेकपाका कमल अर्याललगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा गाउँपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, विद्यालयका शिक्षकशिक्षिका, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मीहरुको उपस्थितीरहेको थियो । कार्यक्रममा लोकगायिका प्रतिमा अर्यालले आफ्नो साङ्गीतिक प्रस्तुती दिएकी थिइन् । सोही अवसरमा र्कचारी, र विद्यार्थीले पनि आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

मूख्यमन्त्री बानियाँद्वारा कैलाश आधारभूत अस्पताल उद्घाटन
बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले कैलाश गाउँपालिकास्थित विपि स्मृति कैलाश आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैंया लगानीमा स्थापना भएको अस्पतालको मूख्यमन्त्री बानियाँले उद्घाटन गरेका हुन् । अस्पताल आशिष आर्शिवाद स्वामी नारायण जेभीसँग २०७८ जेठ २७ गते निर्माण सम्झौता भई २०८२ असारमा निर्माण सम्पन्न भएको थियो । अढाई तल्ले अस्पताल भवनमा १० शैया रहेको छ । अस्पतालमा २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी दरबन्दी रहेको छ ।

अस्पतालमा ५ जना स्टाफ नर्स, २ जना अनमी, ३ जना हेल्थ असिष्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याव टेक्निसियन, १ जना रेडियोग्राफर, १ जना फार्मेसी सहायक, १ जना डेन्टल हाइजिनिक, १ जना नासु, २ जना कार्यालय सहयोगी, १ जना सरसफाइकर्मी र १ जना सुरक्षाकर्मी रहेका छन् । तर हालसम्म स्वास्थ्य चौकीको दरबन्दी मात्रै रहेको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए ।

अस्पतालमा इमरजेन्सी सेवासहित स्त्ररोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे, इसिजी लगायतका सेवा उपलव्ध हुने जनाईएको छ । अस्पताल स्थापना भएपछि कैलाश गाउँपालिकाको १० वटै वडा र राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४ र ९ का बासिन्दा लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । २१ हजार ८ सय ५६ जनसंख्या रहेको गाउँपालिका मकवानपुर सदरमुकाम हेटौंडाबाट ४५ किलोमिटर टाढा छ । जिल्लाकै दुर्गम पालिकामध्येको एक कैलाश गाउँपालिका स्वास्थ्य सुविधामा पछि परेको पालिका हो । यसका स्थानीय उपचारका लागि सदरमुकाम हेटौंडा र मनहरी बजार पुग्नुपर्ने बाध्यता रहेकोमा अब स्थानीयस्तरमै अस्पताल स्थापना भएपछि स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि हुने उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *