हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट गुणस्तर सुनिश्चितताको मान्यता (क्युएए) प्राप्त गरेको छ । करिब ५ वर्षको प्रयत्नपछि आयोगले सोमबार म्यानेजमेन्टलाई गुणस्तर सुनिश्चितताको मान्यता दिने निर्णय भएको जानकारी दिइएको छ ।
मकवानपुर जिल्लामा गुणस्तर सुनिश्चितताको मान्यता पाउने म्यानेजमेन्ट दोस्रो संस्था हो । मकवानपुर बहुमुखी क्याम्पसले आयोगबाट गुणस्तर सुनिश्चितताको मान्यता पाइसकेको छ । २०५२ सालमा स्थापित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितताको मान्यता पाउनु महत्वपूर्ण उपलब्धी भएको हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले बताए ।
विश्वविद्यालय तहको शिक्षालाई प्रभावकारी बनाउने योजनासहित म्यानेजमेन्टको टिमले गरेको मिहिनेतको नतीजा नै गुणस्तर सुनिश्चितताको मान्यता प्राप्त हुनु रहेको उनले बताए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका योजना तथा विकास निर्देशक दिपेश जोशीले ५ वर्षको मिहिनेतले राम्रो नतीजा हासिल गरेको भन्दै खुसी व्यक्त गरे ।
गुणस्तर सुनिश्चितताको मान्यता प्राप्त गर्नका लागि विश्वविद्यालय अनुदान आयोगसँग गरिएको सहकार्य, आयोगको मार्गदर्शनअनुसार संस्थागत संरचनामा गरिएको सुधारले म्यानेजमेन्टको संस्थागत संरचना एउटा व्यवस्थित संस्थाको रुपमा स्थापित भइसकेको उनले बताए । त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धमा २०६० सालदेखि स्नातक तहको पठनपाठन सुरु गरेको म्यानेजमेन्टले अहिले वाणिज्य संकायमा स्नातक र स्नात्तकोत्तर तह तथा स्नातक तहमा सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । म्यानेजमेन्टमा स्नातक र स्नात्तकोत्तर तहमा ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायतका अन्य सुविधा प्राप्त हुनेगर्छ ।






