हेटौँडा, हेटौँडा–२, मनकामना चोक निवासी धनमाया बर्तौलाले सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै शनिबार ॐ वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरूका लागि अन्नदान गरेकी छन्।

बर्तौलाले आश्रममा बसोबास गरिरहेका २३ जना जेष्ठ आमाबुवाका लागि करिब ५५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग प्रदान गरेकी हुन्। उनले चामल १० बोरा, दाल १ बोरा, तेल ८ कार्टुन, नुन १ बोरा, चियापत्ती ४ किलो तथा चिनी १ बोरा आश्रमलाई हस्तान्तरण गरेकी थिइन्।
वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरूको दैनिक जीवनयापनमा सहयोग पुग्ने उद्देश्यले उक्त अन्नदान गरिएको बर्तौलाले बताइन्। समाजमा रहेका असहाय तथा जेष्ठ नागरिकहरूको सेवा गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ।
आश्रमतर्फबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले जेष्ठ नागरिकहरूको जीवनयापनमा ठूलो राहत पुग्ने बताइएको छ। साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले पनि यस्ता सामाजिक सेवामूलक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।







