न्यू डाइमण्ड र केशवलाल स्मृति प्रतिष्ठानको जित, आयोजक प्रतियोगिताबाट बाहिरियो

हेटौंडा, हेटौंडा–१० स्थित टीसीएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दोस्रो दिन केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान (बागमती प्रदेश) र काठमाडौंको टिपटक न्यू डाइमण्ड स्पोर्ट्स क्लबले जित हासिल गरेको छ । यसैबीच आयोजक मकवानपुर जिल्ला भलिबल संघ भने लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

ADVERTISEMENT

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गतको प्रतियोगितामा बिहीबार भएको पहिलो खेलमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई सोझो सेटमा पराजित गर्‍यो। उक्त खेलमा बागमती प्रदेशले पहिलो सेट २५–१३ र दोस्रो तथा तेस्रो सेट समान २५–१० ले जित्दै सहज विजय हासिल गर्‍यो।

दोस्रो खेलमा टिपटक न्यू डाइमण्ड स्पोर्ट्स क्लबले आयोजक मकवानपुर जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। न्यू डाइमण्डले पहिलो र दोस्रो सेट समान २५–६ ले जित्दा तेस्रो सेट २५–११ ले आफ्नो पक्षमा पार्‍यो।

हालसम्मको लिग चरणमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र न्यू डाइमण्ड क्लबले एक–एक खेल जितेका छन् भने दुई खेल खेलेको जनशक्ति युवा क्लबले एक जित निकालेको छ। उता आयोजक मकवानपुरले खेलेका दुवै खेलमा हार बेहोरेपछि सेमिफाइनल पुग्न नपाउँदै प्रतियोगिताबाट बाहिरिएको हो।

यसअघि बुधबार भएको खेलमा मकवानपुर पाल्पाको स्टेप भलिबल क्लबसँग २५–६, २५–२१ र २५–२३ को सेटमा पराजित भएको थियो। त्यस्तै, जनशक्ति युवा क्लबले कोशी प्रदेशको ब्राइट फ्यूचर स्पोर्ट्स क्लबलाई २५–२२, ११–२५, २६–२४ र २६–२४ ले हराएको थियो।

शुक्रबार लिग चरणका अन्तिम खेलहरू सञ्चालन हुनेछन् भने शनिबारदेखि सेमिफाइनल चरण सुरु हुनेछ। पहिलो सेमिफाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र स्टेप भलिबल क्लब ९पाल्पा० भिड्नेछन्। दोस्रो खेलमा केशवलाल स्मृति प्रतिष्ठान र ब्राइट फ्यूचर स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। लिग चरणबाट शीर्ष दुई स्थान हासिल गर्ने टोलीहरूले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल आइतबार हुनेछ।

प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा कुल ६ वटा राष्ट्रिय टोलीहरूको सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya