उपमेयर कप भलिबलको फाइनल खेल आज

हेटौंडा उपमहानगरपालिका उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा फाइनल खेल आज हुँदैछ । हेटौंडा १२ पान्तलेस्थित बुद्ध माविको खेल मैदानमा जारी पुरुष र महिला दुवैतर्फ १९ नम्बर वडा फाइनलमा पुगेको छ ।

१९ सँग पुरुषतर्फ ११ नम्बरले र महिलातर्फ ९ नम्बर वडाले फाइनल खेल्नेछ । मंगलबार भएको सेमिफाइनलमा पुरुषतर्फ १९ ले ४ नम्बर वडालाई २५–९, २५–१३ र २५–१६ को सेटमा हराएको हो । यस्तै ११ ले ५ नम्बर वडालाई २५–१८, २५–२० र २५–१२ को सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । यता महिलातर्फ १९ नम्बर वडाले साविक विजेता १७ नम्बर वडालाई ३०–२८, २१–२५, २५–१३ र २५–२३ को सेटमा हरायो । ९ ले १४ नम्बर वडालाई ३१–२९, २५–१५ र २५–२१ को सेटमा पाखा लगाएको हो ।

केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा पाँचौ संस्करणको उपमेयर कप भलिबल प्रतियोगिता २७ गतेबाट जारी रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनल पुग्ने टोलीले पनि १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार ५ सयसहित ट्रफी प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीहरुले नगद एकहजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ९ वटा वडाले सहभागिता जनाएको छ । फाइनल खेल आज बुधबार दिउँसो हुने प्रतियोगिता संयोजक त्रिविक्रम रुपाखेतीले जानकारी दिए । प्रतियोगिताको अघिल्लो संस्करणमा महिला तथा पुरुष दुवैतर्फको उपाधि हेटौंडा १७ नम्बर वडाले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button