हेटौँडा, हेटौँडामा यही चैत २७ र २८ गते “मकवानपुर स्म्यास ओपन एन्ड भेट्रान ब्याडमिन्टन प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ।
हेटौँडास्थित थानाभर्याङ ब्याडमिन्टन एकेडेमीको हलमा सञ्चालन हुने उक्त प्रतियोगितामा खुल्ला र भेट्रान (४५ वर्षमाथि) गरी दुई विधामा प्रतिस्पर्धा गराइने आयोजक फन आईस्क्रिमका सञ्चालक अभिषेक बोसले जानकारी दिए।
खुल्ला विधातर्फ प्रथम पुरस्कार २५ हजार रुपैयाँ, द्वितीय १५ हजार रुपैयाँ तथा तृतीय र चौथो स्थानका लागि समान ५/५ हजार रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। यसैगरी, भेट्रानतर्फ प्रथम १५ हजार रुपैयाँ, द्वितीय १० हजार रुपैयाँ र तृतीय तथा चौथो स्थानका लागि समान २ हजार ५ सय रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कारप्रदान गरिनेछ।
प्रतियोगितामा प्रत्येक टिमका लागि दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ। नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा हालसम्म ३४ टिमले नाम दर्ता गरिसकेको बोसले बताए।
मकवानपुर जिल्लामा ब्याडमिन्टनका प्रतियोगिता कम हुने भएकाले खेलाडी तथा खेलको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ।







