हेटौंडा, जेसीआई बसामाडीले क्रिक्सल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा जेसीआई बसामाडीले जेसीआई हेटौंडा जेनजीसँग ६ विकेटको जित हासिल गर्दै उपाधी चुमेको हो ।
फाइनल खेलमा जेसीआई हेटौंडा जेनजीले दिएको ८८ रनको लक्ष्य जेसीआई बसामाडीले ६ विकेट गुमाएर पूरा गरेको थियो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका जेसीआई बसामाडीका सुरज भट्टराई म्यान अफ द म्याच घोषित भए ।
यसअघि भएको सेमिफाइनल खेलमा जेसीआई बसामाडीले जेसीआई हेटौंडालाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा जेसीआई हेटौंडाले दिएको ८४ रनको लक्ष्य बसामाडीले पूरा गरेको थियो ।
त्यस्तै, अर्को सेमिफाइनल खेलमा जेसीआई हेटौंडा जेनजीले बाई पाएर फाइनलमा स्थान बनाएको थियो । क्वार्टरफाइनल खेलमा जेसीआई हेटौंडा जेनजीले जेसीआई बकैयालाई ३ विकेटले पराजित गरेको थियो । बकैयाले दिएको ६० रनको लक्ष्य हेटौंडा जेनजीले पूरा गरेको थियो ।
प्रतियोगितामा जेसीआई बसामाडीका सुरज भट्टराई म्यान अफ द सिरिजसमेत घोषित भए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा माया स्पोर्ट्सका बिप्लव पौडेल अतिथि रहेका थिए भने कार्यक्रम संयोजक जेसी मित्र गौतम रहेका थिए ।







