हेटौँडामा विज्ञान प्रदर्शनीदेखि नृत्यसम्म प्रतिस्पर्धा हुँदै

हेटौँडा, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा हेटौँडामा चौथो वृहत नगरस्तरीय विज्ञान शैक्षिक प्रदर्शनी तथा विविध प्रतियोगिताहरू आयोजना हुने भएको छ।

ADVERTISEMENT

विगतका वर्षहरूमा वडास्तरमा मात्र सीमित रहेको यस कार्यक्रमलाई यस वर्षदेखि नगरव्यापी बनाउँदै शैक्षिक गुणस्तर सुधार र विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि ‘शैक्षिक महोत्सव’कै रूपमा अघि बढाइएको हो। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष नवीन सिग्देलले आगामी जेठ १४ गते हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा विज्ञान प्रदर्शनी, चित्रकला तथा नृत्य प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो।

नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूको सहभागिता रहने यस शैक्षिक प्रदर्शनीमा प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १० हजार र सान्त्वना स्थान प्राप्त गर्नेले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। त्यसैगरी, जेठ १३ गते ‘२० वर्षपछिको हेटौँडा’ विषयमा चित्रकला प्रतियोगिता आयोजना गरी जेठ १४ गते प्रदर्शनीमा राखिनेछ। चित्रकला र जेठ १४ गते नै आयोजना हुने नगरस्तरीय नृत्य प्रतियोगिताका विजेताहरूलाई समेत क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

शैक्षिक गतिविधिलाई थप प्रोत्साहन गर्न वडा कार्यालयले वैशाख २७ गते विशेष सम्मान कार्यक्रम समेत तय गरेको छ। शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा कक्षा ८ को परीक्षामा ४ GPA ल्याउने विद्यार्थीहरूलाई जनही ५ हजार रुपैयाँसहित अभिभावक र शिक्षकलाई पनि सम्मान गरिनेछ। साथै, ३.२ भन्दा माथि GPA प्राप्त गर्ने विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रद्वारा प्रोत्साहित गरिनेछ। विद्यार्थीहरूलाई किताबी ज्ञानका अतिरिक्त आत्मनिर्भर बनाउने उद्देश्यले जेठ २ गतेदेखि हेयर कटिङ, ब्युटिसिएन र इलेक्ट्रिक सम्बन्धी उद्यमशीलता तालिम समेत प्रदान गरिने वडाध्यक्ष सिग्देलले बताउनुभयो।

शैक्षिक क्षेत्रसँगै खेलकुदलाई पनि उत्तिकै प्राथमिकता दिँदै वैशाख १८ गतेदेखि जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु गरिएको छ, जसको फाइनल खेल शनिबार सम्पन्न हुनेछ। यसका साथै, आधुनिक राष्ट्रिय माविमा सम्पन्न तेस्रो वृहत खेलकुद महोत्सवमा सहभागी १२ सय विद्यार्थीमध्ये विजेता ३ सय ५० जनालाई वैशाख २७ गते नै पुरस्कार वितरण गरिने कार्यक्रम छ।

Advertisement 5

करिब १० लाख रुपैयाँ लागत अनुमान गरिएको यस वृहत अभियानले सामुदायिक र संस्थागत विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्यको वातावरण निर्माण गरी समग्र शैक्षिक विकासमा इँटा थप्ने विश्वास लिइएको छ। वडा कार्यालयले आफ्नो बजेटको ३० देखि ५० प्रतिशत हिस्सा शिक्षामा लगानी गर्दै आएको जानकारी दिँदै वडाध्यक्ष सिग्देलले शिक्षामा लगानी बढाउन अन्य तहका सरकारलाई समेत यसले सकारात्मक दबाब दिने उल्लेख गर्नुभयो। पत्रकार सम्मेलनमा शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा ४ का अध्यक्ष श्रीराम दाहाल, हेटौँडा ४ नम्वर वडा सचिव राम प्रसाद गुरागाईँ, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ४ का संयोजक राजेन्द्र बस्ताकोटीलगायतको सहभागी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *